देशभर वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले (शुक्रबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा छ। कोसी, मधेस र बागमती प्रदेशका एकदुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभरको मौस साधारणदेखि पूर्णतया बदलीकै अवस्थामा रहने छ। सबै प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभरकाे माैसम साधारणदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति भारीदेखि धेरै भारी बर्षाको सम्भावमा रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।