

तिलेश्वरधाममा १२ वर्षे धार्मिक महोत्सव सुरु, अक्षयकोष स्थापनाद्वारा धार्मिक संरक्षणको पहल

ललितपुर । गोदावरी नगरपालिका–५ स्थित ऐतिहासिक तिलेश्वरधाममा १२ वर्षे धार्मिक महोत्सव–२०८२ भव्य रूपमा सुरु भएको छ। तिलेश्वरधाम संरक्षण तथा सुधार समितिको मूल आयोजना र वडा नं. ५ कार्यालय तथा ज्ञानकुण्ड युवा क्लबको सहकार्यमा सुरु भएको यो महोत्सवको मुख्य उद्देश्य अक्षयकोष स्थापनासहित तिलेश्वर महादेवको पूजाआजा र सम्पदा संरक्षणलाई प्रभावकारी बनाउनु रहेको छ। जसको उद्घाटन मा. मन्त्री ब्रदी प्रसाद पाण्डे(संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) द्वारा भब्य समारोह बिच उद्घाटन गर्नुभयो ।
कार्यक्रम मा मा सांसद उदय शमसेर राणा भुतपूर्व सांसद नवराज शिलवाल को पनि उपस्थिती रहेको थियो । तिलेश्वरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको उद्घाटन २०८२ साल बैशाख ३ गते, बुधबार ११:४५ बजे गरिएको हो। उद्घाटनअघि प्रभातीर्थ टिकाभैरव र मनकामना मन्दिरबाट पञ्चकलश जलसहितको शोभा यात्रा पञ्चेबाजा, नेवारी बाजा र भजनसहित निकालिएको थियो।
महोत्सव अवधिभर दैनिक बिहान यज्ञाचार्यद्वारा होम, प्रवचन, भजन कीर्तन तथा आरती आयोजना भइरहेको छ। विदुषी शान्ति सुवेदीज्यू, आचार्य कपिलदेव सुवेदीज्यू लगायतका धर्मगुरुहरूको आध्यात्मिक प्रवचनले भक्तजनहरूलाई आस्था र भक्ति सँग जोड्दै आएको छ।
विशेष आकर्षणहरू:
- व्रतबन्ध कार्यक्रम: २०८२ बैशाख ८ गते सोमवारको शुभ लग्नमा व्रतबन्ध गराइनेछ, जसका लागि कुमारहरूको नाम व्यवस्थापन समितिमा टिपाउनु पर्नेछ।
- समापन समारोह: २०८२ बैशाख १३ गते शनिवार सम्पन्न गरिनेछ।
दानवीर दाताहरूप्रति सम्मान:
महोत्सवमा सहयोग गर्ने दाताहरूको विभिन्न श्रेणीअनुसार सम्मान गरिनेछ। रु. १,००० देखि लाखौं रुपैयाँसम्म दान गर्ने दाताहरूलाई शिवनामी, सम्मान पत्र, चाँदीको फ्रेम तथा दोसल्ला ओढाएर सम्मान गरिनेछ। रु. २ लाखभन्दा माथिको सहयोग गर्ने दातालाई विशेष सम्मानसमेत गरिनेछ।
त्यस्तै, गोप्य दान गर्न चाहने भक्तजनका लागि दान पेटिका र अशक्त वृद्धवृद्धाहरूको तुलादानका लागि गाडीको व्यवस्था गरिएको छ। तुलादानका लागि आवश्यक सिक्का मूल समितिबाट उपलब्ध गराइनेछ।
महोत्सवले तिलेश्वरधामको धार्मिक र ऐतिहासिक महत्वलाई उजागर गर्नुका साथै स्थानीय समुदाय र धार्मिक पर्यटकहरूलाई समेत आकर्षित गर्ने विश्वास गरिएको छ।

