

अरुण गाउँपालिकामा शिक्षकमैत्री हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

भोजपुर । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा अरुण गाउँपालिका स्तरीय शिक्षकमैत्री हाजिरीजवाफ प्रतियोगिता श्री शारदा माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष श्री शालिकराम खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष बिनिता ढकाल, सामाजिक विकास समिति संयोजक तथा वाड नं. ७ का वाडध्यक्ष कुमार थापा, वडाध्यक्षहरु कुमार कार्की, युबराज ढकाल, कार्यपालिका सदस्यहरू, गाउँ शिक्षा समिति सदस्य बबिन्द्र रसाइलीज्यू लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा गाउँपालिकाका ७ वटै वाडबाट ५ जना शिक्षकका दरले ७ टिम सहभागी भएका थिए। कडा प्रतिस्पर्धाका बीच वाड नं. ६ को टिमले प्रथम स्थान हासिल गर्न सफल भयो भने, वाड नं. ५, ३ र ४ ले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेको छ ।
यसै अवसरमा, २०८० सालको एसईई परीक्षा नियमित तथा ग्रेडवृद्धि परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरूलाई समेत सम्मानित गरिएको थियो।
प्रतियोगिताले शिक्षकहरूबीच सुसम्बन्ध विकास गर्दै नवीनतम तथा समयसान्दर्भिक ज्ञान आदान-प्रदान गर्ने अवसर प्रदान गरेको आयोजकहरूको भनाइ छ। साथै, यस कार्यक्रमले शिक्षकहरूको कार्यसम्पादनमा सुधार ल्याउनुका साथै विद्यार्थी सिकाइ उपलब्धिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
“अरुणका शिक्षकहरू अरुणका गहना, सिकाइ उपलब्धि सुधार हाम्रो चाहना” भन्ने नारालाई आत्मसात गर्दै, शिक्षाको गुणस्तर अभिवृद्धिमा यस्तो कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

