

गुल्मीको रेसुङ्गा विमानस्थलमा २ महिनादेखि उडान बन्द

काठमाडौँ । रेसुङ्गा विमानस्थलको उडान दुई महिनादेखि बन्द भएको छ ।
नेपाल एयरलायन्सको विमान मर्मत भइरहेको र अन्य विमानको नभएकाले नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । पछिल्लोपटक पुस ४ गते मात्रै विमानस्थलबाट उडान भएको थियो । त्यसपछि उडान हुन नसकेको थापाले बताए ।
नेपाल एयरलाइन्सको ट्वीनेटर विमान उडान गर्दै आएको छ । यात्रुको अत्याधिक चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । तर, पछिल्लो केही समयदेखि शुक्रबार मात्रै उडान भइरहेको थियो । काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङगाबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्यतालिका रहेको छ ।
हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तर्राष्ट्रिय पर्यटक भित्रिन थालेका थिए । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्ग, धुर्कोटको विचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र रुरुक्षेत्र घुम्न जान थालेका हुन् ।
हाल गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३ सय र काठमाडौँबाट गुल्मीका लागि ७ हजार ५ सय रुपियाँ भाडा कायम गरेको छ । अहिले नयाँ बाटो बिस्तारले बाटोले गर्दा काठमाडौंबाट गुल्मी आउन १२ घण्टाको बाटो अहिले झण्डै २२ घण्टा सवारी साधनमा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ । लामो समय उडान बन्द हुँदा विमानस्थलको औचित्यमाथि प्रश्न चिह्न उठेको रेसुङ्गा नगरपालिका(१ का स्थानीय व्यवसायी जनक पन्थले बताए ।
राज्यले करोडौं रकम खर्चेर विमानस्थल बनाउने तर नियमित रुपमा प्रयोग नल्याउनुले राज्यको लगानी बालुवामा पानी जस्तै भएको उनले बताए । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर(१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ ।
विमानस्थलबाट उडान हुन थालेपछि गुल्मीका धेरैजसो वृद्ध, बिरामी, सुत्केरीलगायतका नागरिकले सेवा लिने गरेका थिए ।

