

लुम्बिनी प्रदेश एमालेकी सांसद शर्माविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

काठडमाडौँ । नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा (एमाले)की सांसद रेखाकुमारी शर्माविरूद्ध मुद्दा नचल्ने भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले उनीविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको हो।
काठमाडौंका सरकारी वकिल प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार केही समयअघि नै मुद्दा नचल्ने निर्णय भएको थियो।
‘मुद्दा नचल्ने निर्णय भएको हो। एक(डेढ हप्ता अघि नै हामीले निर्णय गरेर पठाइसकेका छौं,’ उनले भने, ‘फाइल हामीसँग नभएकाले कारणबारे ठ्याक्कै भन्न सकिएन।’
गत जेठ १४ गते बालुवाटारको एक घरबाट नाबालिकाको उद्धार भएको थियो। काठमाडौं महानगरपालिकाको टोलीले नाबालिकाको उद्धार गरेपछि त्यो घर रेखाकुमारी शर्माको भएको खुलेको थियो।
नाबालिकालाई उद्धार गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले शर्मालाई जोगाएको आरोप लगाउँदै आक्रोश पोखेका थिए।

