धितोपत्र बोर्डले दियो रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्काशन गर्ने अनुमति
काठमाडौं । लामो समयदेखि रोकिएको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को काम पुनः सुरु भएको छ।
नेपाल धितोपत्र बोर्डको बुधबार बसेको बोर्ड बैठकले बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो।
बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार रानाले बोर्ड बैठकबाट आईपीओ निष्काशनको अनुमति दिएका हुन्।
कम्पनीले ९४ करोड ८८ रुपैयाँबराबरको ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयर प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आइपीओ निष्काशनको अनुमति पाएको छ।
रानाले बोर्ड बैठकमा रोक्नुपर्ने जरुरी नदेखिएको भन्दै निष्काशनको अनुमति दिएको बताए।
उनले भने, ‘आईपीओ निष्काशनको काम पुनः सुरु भएको छ। अब क्रमशः हामी अरुलाई पनि दिन्छौँ।’
बोर्डले अनुमति दिए पनि आफ्नो वेबसाइटमा भने राखेको छैन।
निष्काशनको अनुमति पाएको रिलायन्स स्पिनिङ्स मिल्सको आईपीओ बुक बिल्डिङ विधिबाट निष्काशन हुने हुँदा सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि मात्रै आवेदन दिन पाउनेछन्।
कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरमा थोरैमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ।
पवन गोल्यानको यो उद्योग सुनसरी जिल्लामा छ। यसले धागो कारखाना सञ्चालन गर्दै आएको छ।