

पाथीभरा केबलकारको आन्दोलनरतपक्ष र गृहमन्त्रीबिच सोमबार छलफल हुन्छ : एमाले सचिव भट्टराई

काठमाडौँ । एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकारको विरोधमा आन्दोलनरत पक्षका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबिच सोमबार वार्ता हुने बताएका छन् । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले आन्दोलनरत पक्षसँग आइतबार आफूले संवाद गरेको समेत जानकारी गराएका छन् ।
‘आज बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म निर्माणाधीन पाथीभरा केबलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसँग सौहार्दपूर्ण संवाद गरियो । उहाँहरूका कुरा सुने । मेरा कुरा भनेँ’, सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले भनेका छन्, ‘उहाँहरूले माननीय गृह मन्त्रीज्यूसमक्ष भेटेर आफ्ना कुरा राखन चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भएअनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरेँ ।’
भट्टराईले गृह मन्त्रीज्यूले भोली माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिएको जानकारी गराउँदै आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फतÞत समस्याको समाधान गर्न अनुरोध समेत गरेका छन् ।

