

संसद्को समितिमा विचाराधीन विधेयक फिर्ता नलिई सरकारले अध्यादेश ल्यायो : माओवादी केन्द्रका प्रमुख हितराज पाण्डे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा विरोध गरेका छन् । शुक्रवार संसद्को अधिवेशनलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याउनु बेठिक भएको भन्दै विरोध गरेका हुन् ।
‘सरकारले आवश्यकता अनुसार अध्यादेश ल्याउन पाइन्छ । संविधानमा उल्लेख छ । अध्यादेश संसद्को समितिमा छलफल भइरहेका बेला फिर्ता नलिई सरकार अध्यादेशमार्फत जान खोजेको त्यो बेठिक छ । समितिमै छलफल गरेको भए छिटो कानुन बन्थ्यो । जसरी सरकार संसद् छलेर अध्यादेशको बाटोमा गएको छ । त्यसको विरोध गर्दछौँ’, उनले भने ।
यस्तै उनले प्रमुख सचेतक र मुख्य सचेतकलाई बोलाएर सदन सञ्चालन सम्बन्धमा छलफल गर्ने अभ्यास यसपटक तोडिएको आरोप लगाए ।

