

भोजपुरमा एचपीभी खोप अभियानः साढे आठ हजार किशोरीलाई खोप लगाइने

भोजपुर । भोजपुर जिल्लामा पाठेघरको क्यान्सर विरुद्धको एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान अन्तर्गत साढे आठ हजार किशोरीलाई खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय भोजपुरका अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका ८,४१९ किशोरीलाई एचपीभी खोप दिइने छ।
यो खोप अभियान दुई चरणमा सञ्चालन हुने छ। पहिलो चरणमा माघ २२ देखि २४ गतेसम्म भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ। दोस्रो चरणमा माघ २७ देखि २९ गतेसम्म षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका र पौवादुङ गाउँपालिकामा खोप कार्यक्रम आयोजना हुनेछ।
यस अभियानका लागि जिल्लाका १३५ विद्यालय, ८१ वटै वडा, ८१ वटा स्वास्थ्य संस्था र ९ वटा समुदायस्तरीय खोप केन्द्र गरी २२५ खोप केन्द्र निर्धारण गरिएको छ। साथै, २२५ जना स्वास्थ्यकर्मी र ४५० जना स्वयमसेवकले खोप कार्यक्रम सञ्चालनमा सहयोग गर्ने छन्।
एचपीभी खोपले पाठेघरको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट बचाउँछ। खोप कार्यक्रमको प्रभावकारीता सुनिश्चित गर्न स्वास्थ्य कार्यालय भोजपुरले सरोकारवालासँग अन्तरक्रिया बैठक समेत गरेको छ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले खोप कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। प्रमुख जिल्ला अधिकारी नर बहादुर थापाले स्थानीय तहलाई प्रभावकारी भूमिका निभाउन आग्रह गर्दै, नागरिकको स्वास्थ्यको जिम्मेवारी सवैको भएको टिप्पणी गरे।
यस खोप अभियानले भोजपुरका किशोरीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने र क्यान्सरको जोखिमबाट बचाउने महत्वपूर्ण कदम हो।

