

गुरु षडानन्द आँखा तथा कान उपचार केन्द्रको उद्घाटन

भोजपुर । षडानन्द नगरपालिका स्थित भारतीय राजदूतावासद्वारा निर्माण गरिएको अस्पताल भवनमा गुरु षडानन्द आँखा तथा कान उपचार केन्द्र को उद्घाटन भएको छ।
नेपाल नेत्रज्योति संघ, बिराटनगर आँखा अस्पताल र षडानन्द नगरपालिका बीचको त्रीपक्षीय सम्झौताअनुसार केन्द्रको उद्घाटन नगर प्रमुख सुरेन्द्र कुमार उदासले गरेका हुन्। उद्घाटन समारोहमा उपप्रमुख प्रमिला राईले पालिकामा आँखा र कानसँग सम्बन्धित समस्याको वृद्धिलाई चिन्ता जनाउँदै भने, “प्रविधिको प्रयोगसँगै यी समस्याहरू थप जटिल बनिरहेका छन्। यद्यपि, अब यस केन्द्रबाट सेवा उपलब्ध हुनाले स्थानीयवासीलाई बाहिर जानुपर्ने समय र खर्चको बचत हुनेछ।”
नगर प्रमुख सुरेन्द्र कुमार उदासले लामो समयको प्रयासपछि आवश्यक सेवासम्बन्धी केन्द्रको स्थापना भएकोमा खुशी व्यक्त गर्दै भने, “आँखा र कानको उपचार केन्द्रको स्थापना धेरै प्रयत्नपछि सम्भव भएको हो। अब यस केन्द्रबाट स्तरवृद्धि गर्नका लागि थप प्रयास गर्नेछौं।”
यो अस्पताल १५ सैयाको सुविधा सम्पन्न हुनेछ, जसको निर्माण भारतीय राजदूतावासको सहयोगमा भएको हो भने सञ्चालन स्थानीय नगरपालिकाको बजेटबाट हुनेछ। उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघ कोशी प्रदेशका सभापति श्यामसुन्दर उदास, भोजपुरका सभापति तेज मोक्तान, र बिराटनगर आँखा अस्पतालका प्रतिनिधिहरूको उपस्थिति थियो।
उद्घाटनको साथसाथै आँखा उपचार सेवा सुरु भएको छ भने कान सम्बन्धि सेवा केही दिनमा सुरु हुने जानकारी दिइएको छ।

