पनु :अखिल क्रान्तिकारीको निर्वाचन तालिका सार्वजनिक
काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । गत असोजमा आयोजित २३ औं राष्ट्रिय सम्मेलनमा विवादका कारण नेतृत्व चयन गर्न नसकेको अखिल क्रान्तिकारीले तीन महिनापछि निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि दुई चरणमा निर्वाचन हुने छ । पहिलो चरणमा नेतृत्वमा उमेर हद ९३२ वर्ष० लगाउने कि नलगाउने भनेर निर्वाचन हुनेछ । त्यसबाट जे नतिजा आउँछ, त्यसको आधारमा उम्मेदवारी दर्ता गरी नयाँ नेतृत्व चयनका लागि फेरि मतदान हुने छ ।
मंगलबार प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जारी गरेको सूचना अनुसार उमेर हदका लागि पुस १० गते मतदाता नामावली सार्वजनिक हुनेछ । पुस ११ गतेदेखि १२ गते बिहान १० बजेसम्म मतदाता नामावली उपर दावीविरोध र पुस १२ गते साँझ ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।
उमेर हदको विषयमा पुस १३ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदात हुने छ । उमेर हदमा मतदानका लागि भूगोल र गैरभूगोल गरी ८६ जिल्लाहरूमा मतदान केन्द्र तोकिएको छ ।
उमेर हदको निर्वाचनको नतिजा पुस १४ गते सार्वजनिक हुने छ । त्यसपछि दोस्रो चरणको निर्वाचन केन्द्रीय पदाधिकारी र सदस्य चयनका लागि हुने छ । यो निर्वाचनका लागि पुस १५ गते मनोनयन दर्ता हुने छ ।
पुस १६ गते उम्मेदवारी उपर दावीविरोध, अन्तिम नामावली प्रकाशन हुने छ । पुस १७ गते बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुने छ ।
केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि भूगोल र गैरभूगोल गरी ९ प्रदेशस्तरीय मतदान केन्द्र तोकिएको छ ।
गत असोज १० गतेदेखि कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा २८, ३० र ३२ वर्ष उमेर हदको विकल्पमा भोटिङ गर्ने भनिएको थियो । तर विवादका कारण सम्मेलन स्थलमा तोडफोड भएपछि सम्मेलन स्थगित गरेर २३ र २४ मंसिरमा गर्ने भनिएको थियो । तर निर्धारित समयमा सम्मेलन हुन सकेको थिएन ।
अहिले भने ३२ वर्ष उमेर हद कायम गर्ने कि नगर्ने भनेर मतदानको निर्णय भएको फ्र्याक्सनइन्चार्ज हिमाल शर्माले जानकारी दिए । ‘अब उमेर हदमा एउटा मात्र विकल्प छ । ३२ वर्ष उमेर हद लगाउने कि नलगाउने भनेर भोटिङ हुन्छ र त्यसबाट जे नतिजा आउँछ, त्यही अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्छ ।’
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम भए अहिले अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिने छन् ।
विवाद समाधान
भोटिङ सुरु गर्नुअघि विभिन्न जिल्लाको प्रतिनिधि विवाद समेत समाधान गरिसकिएको छ । नवलपुर, कास्की, ताप्लेजुङ, काभ्रे, सिटिइभिटी जिल्ला कमिटीको विवाद समाधान गरिएको एक नेताले जानकारी दिए ।
‘तीमध्ये कतिपय जिल्लाबाट प्रतिनिधिहरुको दुईवटा नामावली आएका थिए, केहीमा सिनियर छुटेको, केहीमा छात्रा छुटेको भन्ने कुराहरु थिए,’ ती नेताले अनलाइनखबरसँग भने, ‘त्यो विवादका कारण पनि राष्ट्रिय सम्मेलनमा उमेर हदको विषयमा भोटिङ हुन सकेको थिएन । अहिले सर्वसम्मत रुपमा विवाद समाधान गरिएको नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुन्नका लागि २३ सय २३ जना प्रतिनिधि निश्चित गरिएको छ ।