छानबिन समिति गठन गरेर गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : राप्रपा
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभामा बोल्न दिनुपर्ने माग राखेको छ ।
सभामुख देवराज घिमिरेले नयाँ बानेश्वरस्थित संसद् भवनको कार्यकक्षमा प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले यस्तो बताएका हुन् ।
‘गृहमन्त्रीलाई बोल्न दिनुपर्छ’ आफूले सभामुखसँगको छलफलमा राखेको विषयबारे प्रमुख सचेतक शाहीले भने ।
गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा आफूहरू छानबिन समितिको मागबाट पछि नहटेको पनि उनले बताए । समग्र देशका सहकारीबाट पीडित भएकाहरूलाई न्याय दिइनुपर्ने उनको भनाइ छ ।
गरिबको पैसा अनियमितता गरेका कोही अर्बपति, करोडपति बनेको र त्यसमध्ये कोही देश बाहिर जाने अवस्था रहेको भन्दै उनले छानबिन समिति बन्नैपर्ने बताए ।
‘छानबिन समिति बन्ने र गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने राप्रपाको माग छ । बोल्ने कुरामा चाहिं प्रतिबन्ध गर्नु हुँदैन’ उनले भने ।