यमनको राजधानीमा रहेका हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण
काठमाडौं । अमेरिकाले यमनको राजधानी सानामा रहेका हुथी विद्रोही रहेका स्थानमा आक्रमण गरेको छ ।
अमेरिकाले हुथी विद्रोहीका मिसाइल भण्डार केन्द्रमा हवाई हमला गरेको हो ।अमेरिकी सेन्ट्रल कमाण्डले यमनमा आक्रमण पुष्टि गरेको छ । उसले लाल सागरमा हुथी विद्रोहीका ड्रोनहरु र एक एन्टी–सिप क्रुज मिसाइललाई पनि खसालेको जनाएको छ ।
इजरायलमाथि हुथी विद्रोहीले आक्रमण गरेपछि अमेरिकाले पछिल्लो दुई दिनमा दोस्रोपटक आक्रमण गरेको हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । तर कम्तिमा १६ जना मानिस घाइते भएको समाचार छ ।
हुथी विद्रोहीहरुले शनिबार इजरायलको तेल अविवमा एक ब्यालेस्टिक मिसाइलबाट हमला गरेका थिए । यो आक्रमणबाट दर्जनौं व्यक्तिहरु घाइते भएका थिए । हुथी इरान समर्थित विद्रोही समूह हो । उसले यमनको उत्तरपश्चिम क्षेत्रमा नियन्त्रण कायम गरेको छ ।
गत अक्टुबर २०२३ मा गाजामा युद्ध सुरु भएपछि हुथीले इजरायलमाथि आक्रमण गर्न थालेको थियो । हुथी विद्रोहीका नेताहरुले प्यालेस्टिनी र आफूहरु एकजुट रहेको बताउने गरेका छन् ।