खर्बपति व्यापारी एलन मस्कको स्टारलिंकको इन्टरनेट डिभाइस भारतमा फेरि भेटियो
काठमाडौं। भारतमा दोस्रोपटक अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्याटलाइट इन्टरनेट कम्पनी स्टारलिंकको उपकरण भेटिएको छ । मणिपुरको राजधानी इंफालमा सुरक्षा बलले हालै एक छापामा हतियार र गोल–बारुदको साथमा केही इन्टरनेट उपकरण जफत गरेको हो ।
छापा १३ डिसेम्बरमा मारिएको बताइएको छ । भारतीय सेनाको स्पेयर कोरले सामाजिक सञ्जाल एक्समा जफत भएका सामानको तस्बिर शेयर गरेको छ । मणिपुरमा मैतेई र कुकी समुदायबिच चलेको झडपमा सुरक्षा बलले हतियार फेला पारेको हो । तस्बिरमा देखाइएको सामानमा स्टारलिंकको लोगो भएको उपकरण पनि थियो ।
स्टारलिंकको उपकरण भेटेपछि भारतको सुरक्षा निकायले भारतमा यो प्रविधिको प्रयोगबारे छानबिन सुरु गरेको छ । भारतमा स्टारलिंकको उपकरण भेटिएको यो दोस्रो पटक हो । यसअघि नोभेम्बरको अन्त्यमा अंडमान–निकोबार प्रहरीले माछा समात्न प्रयोग गरिने डुङ्गाबाट ३६ अर्ब मूल्य बराबरको ६ हजार किलो लागू औषध र स्टारलिंकको एउटा उपकरण जफत गरेको थियो । यो स्टारलिंकको माइक्रो इन्टरनेट उपकरण थियो ।
भारतमा भेटिएको आफ्नो स्याटलाइट इन्टरनेट उपकरण निष्क्रिय रहेको दाबी एलन मस्कले गरेका छन् । हालैका हप्तामा भारतमा अधिकारीहरूले स्टारलिंकको उपकरण जफत गरेयता आएको मस्कको यो पहिलो प्रतिक्रिया थियो ।
स्टारलिंकले भारतमा सेटलाइट ब्रोडब्यान्ड सेवाको प्रवाहका लागि सरकारसँग अनुमति लिन खोजिरहेको छ । यस प्रक्रियामा कम्पनीले सम्भावित सुरक्षा चासोलाई सम्बोधन गर्ने कोसिस गरिरहेको छ ।