संसदको हिउँदे अधिवेशन पुसको तेस्रो साता बोलाउने तयारी
काठमाडौं। सरकारले संघीय संसद्को हिउँदे अधिवेशन पुसको तेस्रो साता बोलाउने तयारी गरेको छ ।
सभामुख देवराज घिमिरेले निटकस्थहरूलाई ब्रिफिङ गरेअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा हाल रहेको विजनेशको बारेमा जानकारी लिएका थिए । त्यसआधारमा पुसको तेस्रो साता बस्ने गरी दोस्रो साता मिति तय गर्ने जानकारी प्रधानमन्त्री ओलीले सभामुख घिमिरेलाई दिएका छन् ।
संसद सचिवालयका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘हाल संसदमा रहेका विधेयकहरु अगाडि बढेको छैन । संसदीय समितिले काम गर्नुपर्ने नै छ । हाउस बोलाएर फेरि विजनेश भएन भन्नु भन्दा केही दिन पर सार्दा केही हुन्न भन्ने छ ।’
संसद सचिवालयका अनुसार हाल संघीय संसदमा २० भन्दाबढी विधेयक विचाराधीन छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पाँच वटा विधेयक विचाराधीन छन् । बैंक तथा वित्तीय संस्था विधेयक, सुरक्षित कारोबार ऐन संशोधन विधेयक, धितोपत्र ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन विधेयक र भन्सार विधेयक दफावार छलफलमा छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक छ।
राज्य व्यवस्था समितिमा चार वटा विधेयक विचाराधीन छ । त्यसमध्ये संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफल गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक र भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पनि छलफल गरिरहेको छ ।
नदीजन्य सामग्री ढुंगा, गिट्टी, बालुवा उत्खनन र निर्यातसँग जोडिएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक भने राज्य व्यवस्था समितिले अगाडि बढाएको छैन ।
प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलमा छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक दफावार छलफलमा छ ।