रास्वपाका सभापति लामिछानेमाथि सरकारले ज्यादती गरिरहेको छ: वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले ज्यादती गरेको टिप्पणी गरेका छन् ।
मंगलबार पार्टीको तनहुँस्थित आँखुबैरेनी गाउँपालिकाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारीसभामा बोल्दै पुनले सरकारले रास्वपासहित अरू दललाई तर्साउन लामिछानेलाई एकपछि अर्को जिल्लामा घुमाइरहेको बताए ।
पुनले लामिछानेलाई मध्यरातमा उठाएर चितवनबाट पोखरा लैजानुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताए । ‘रवि लामिछानेमाथि छानबिन गर्ने कुरामा हाम्रो भन्नु केही छैन । तर, कहिले पोखरा, कहिले भैरहवा, कहिले काठमाडौँ, चितवन र कहिले पर्सा हिँडाएको हिँडायै किन गरिएको छ रु के अरू प्रतिपक्षी दललाई पनि तर्साउन खोजिएको हो रु’, उनले भने, ‘राज्यको नियन्त्रणमा रहेको व्यक्तिबाट सरकारले के खतरा देख्यो मध्यरातमा उठाएर मौलिक अधिकार, मानव अधिकार र सामान्य प्रक्रिया पनि पुरा नगरी किन चितवनबाट पोखरा लगियो रु’
सहकारी ठगी छानबिन गर्न गठित संसदीय समितिले दोषी औँल्याएका कांग्रेसका वरिष्ठ नेता र एमालेका सांसदलाई छानबिनको दायराबाहिर राखिएकामा पनि उनले प्रश्न गरे । सत्ता गठबन्धनका दल र आफू निकटका व्यक्तिहरू विभिन्न काण्डमा मुछिँदा उनीहरूलाई छानबिनबाहिर राख्ने तथा विपक्षी दल वा सामान्य मानिसहरूमाथि मात्र कारबाही अघि बढाउने सरकारको नियतले कानुन सबैका लागि खराब हुनुपर्ने सिद्धान्त खण्डित भएको उल्लेख गरे ।
पुनले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लीलाबल्लब अधिकारीले मानव तस्करसँग मिलेर युवाहरूलाई विदेश लगेको खुलेपछि जापानको अध्यागमनले फिर्ता पठाएको प्रसंगको चर्चा गर्दै प्रहरीले १२ जनामाथि मुद्दा चलाउन सिफारिस गरेकामा अधिकारीबाहेक ११ जनालाई मात्र मुद्दा चलाइनुले सरकारको नियत स्पष्ट हुने बताए ।