सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको छ ।
फरक–फरक कसुरमा तीन जनालाई पक्राउ गरेर ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेहरूमा रौतहटको चन्द्रनिगाहापुरका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारी, चितवनको भरतपुरका ३७ वर्षीय रुपक शर्मा पौडेल र सप्तरीका ४४ वर्षीय लक्ष्मण यादव भनिने जगदीशप्रसाद यादव छन् ।
अधिकारीले फेसबुकमार्फत एक महिलालाई साथी बनाई उनको गोप्य तस्वीर तथा भिडिओहरू आफन्तलाई पठाई चरित्र हत्या गरेको आरोप छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोका एसपी भाग्येन्द्र पुरुष ढकालले बताए ।
अर्का प्रतिवादी शर्मा र यादवले पनि अर्की एक महिलाको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप छ ।