नक्कली सुन देखाएर ठगी गर्ने २ जना भारतीयसहित ६ जना गिरोह पक्राउ
काठमाडौं। नक्कली सुनका गरगहना देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले २ जना भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ । यो गिरोहले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा ठगी गरेको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार झापाको कमल गाउँपालिका–१ तोपगाछीका ५२ वर्षीय अशोक तामाङ, कनकाई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रवीन तामाङ र हल्दिबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङवा, भारतको दार्जिलिङका ५१ वर्षीय नारायण गुरुङ र ३४ वर्षीय सञ्जय शर्मा पक्राउ परेका हुन् ।
गत २७ कात्तिक सोही समूहका अशोक तामाङले विराट शिक्षण अस्पतालमा उपचारका लागि आएका संखुवासभाको पाँचखपन नगरपालिका–५ का कृष्णबहादुर तामाङको साथमा रहेको एक लाख १० हजार रूपैयाँ चोरेर लगेका थिए । चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा गिरोह पत्ता लागेको थियो । चोरी गर्ने तामाङलाई पक्राउ गरेपछि प्रहरी गिरोहसम्म पुगेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गिरोहलाई इटहरीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । उनीहरुलाई म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।
हटिया, अस्पताल, मेला, पर्व र भिडभाड बढी हुने ठाउँमा गएर गरगहना लगाएका सोझा र वृद्ध अवस्थाका मानिसहरुलाई नक्कली सुन देखाएर ठगी गर्ने गरेको देखिएको मोरङ प्रहरी प्रमुख नारायण चिमरीयाले बताए । यो समूहले नक्कली सुनको बिस्कुट देखाएर सुनसरीमा ५, मोरङमा ४ र झापामा १ जनालाई ठगी गरेको भेटिएको छ । अन्य व्यक्तिलाई पनि ठगी गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
पक्राउ परेको समूहको साथबाट तिलहरी, हार, मंगलशूत्र, टिल, चन्द्रमा, कानमा लगाउने रिङ, बेरुवा, लकेट, सिक्री, झुम्का, टप, ब्रासलेट, औंठी, चाँदीको पाउजू, जिमाला, कालो पोतेलगायत सामग्री बरामद गरेको छ । २ लाख ७२ हजार ४ सय ३० नेपाली र २ हजार ६ सय ३० भारती रूपैयाँसमेत बरामद भएको छ ।