रास्वपाका सभापति रवि हिरासतमा जेजे गर्नुछ गर्नुस् तर, चाँडो गर्दिनुस्’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।
उनलाई भद्रकाली स्थित परिसरको ‘भीआईपी हिरासत कक्ष’मा राखिएको छ । उनी बस्ने ठाउँमा अरू थुनुवा बस्दैनन् । साधारण हिरासत भन्दा उनी बस्ने कोठामा सुत्ने कक्ष र शौचालय आउजाउ गर्न सहज छ ।
मङ्सिर १४ र १६ मा उनीसँग स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले बयान लिएका छन् । सोमबार पनि उनको बयान हुँदै छ । सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट बयानका लागी काठमाडौँ ल्याइएको हो । स्वर्णलक्ष्मीबाट लामिछानेले दुईपटक ऋण लिएको तर, फिर्ता नगरेको फेला परेको छ । सूर्यदर्शन र सुप्रिममा बयान दिएर काठमाडौँ आएका लामिछानेले अनुसन्धान अधिकृतहरूलाई आफ्नो बयान छिटो टुङ्ग्याइदिन आग्रह गरेका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘जेजे गर्नुपर्ने छ गर्नुस् तर, चाँडो गर्दिनुस् ।’
कार्तिक २ मा पक्राउ परेका लामिछाने लामो समय हिरासतमा बस्दा पनि नआत्तिएको अवस्थामा प्रस्तुत भएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘उहाँ आत्तिनुभएको छैन, जेजे गरेपनि हुन्छ तर, चाँडो गर्दिनुस् भन्नुहुन्छ ।’
अनुसन्धान अधिकृतहरूले लामिछानेलाई स्वर्णलक्ष्मीबाट लिएको ऋणबारे प्रश्न गरेका छन् । जीबी र रविले संयुक्त नाममा ऋण लिएका हुन् । २०७८ भदौ ४ मा उनीहरूले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकालेको भेटिएको छ ।
‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ । त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ । स्वर्णलक्ष्मीको कार्यालयबाट प्रहरीले ३५ थान भौचर बरामद गरेको छ । अनुसन्धान अधिकृतहरूले प्राप्त प्रमाण देखाएर लामिछानेलाई प्रश्न गरिरहेका छन् ।
आज बयान टुङ्ग्याउनेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले बताए । उनले भने, ‘आइतबार बयान टुङ्गिएन्, आज सकभर सक्ने गरी काम गरिरहेका छौँ ।’ स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
२७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।