मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई ८ वर्ष कैद, साढे तीन करोड जरिवाना
काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर अनि सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले उनलाई कैदका साथै तीन करोड ४२ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । फैसला अनुसार पौडेलले त्यति नै रकम बिगो तिर्नुपर्नेछ ।
विशेष अदालतले पौडेललाई १४ कार्तिकमा दोषी ठहर गरेर सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको थियो । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद र त्यति नै बिगो र जरिवाना तोकेको छ ।
उनीहरू अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा दोषी ठहर भएका हुन् । अख्तियारले विकलसहित १२ जना विरुद्ध ९ असारमा मुद्दा दायर गरेको थियो । यही मुद्दामा प्रतिवादी बनाइएका निवर्तमान मुख्यसचिव डा.बैकुण्ड अर्याल लगायतले भने सफाइ पाएका छन् ।