कांग्रेस, एमाले र माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेन :राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गरे । उनले राजनीतिक दलका मानिसहरूलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय मरेको जिकिर गरे ।
उनले सरकारी निकायहरूमा कांग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताए । सर्वोच्च अदालतमा कांग्रेस, एमाले, माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन नसकेको दाबी गरे । अध्यक्ष लिङ्देनले अब सिंगो देश एउटा निर्वाचन क्षेत्र हुनुपर्ने र जनता स्वयंले प्रधानमन्त्री चुन्न पाउनुपर्ने बताए ।
उनले सरकारलाई विदेशीले कहिले लडाउने हो भनेर डर पैदा भइरहेको बताए ।