पछिल्लो एक वर्षमा दोब्बर बढ्यो तरकारी भाउ
काठमाडौं । पछिल्लो समय साना खाजा पसल, होटलले पकाएको तरकारीको भाउ बढाउन थालेका छन् ।
यसको मुख्य कारण हो– नघटेको हरियो तरकारीको भाउ । कालीमाटी तरकारी बजारमा एक महिना अगाडिदेखि उच्च भएको तरकारी भाउ अहिलेसम्म घटेको छैन । यसको असर प्रत्यक्ष भान्सामा पुगेको छ ।
‘गत वर्ष एक समयमा बढेको तरकारी भाउ, एक हप्तापछि घट्ने हुन्थ्यो तर यो वर्ष एक महिना जति भयो उच्च मूल्यमा स्थिर भएको,’ जडीबुटी तरकारी बजारका एक व्यवसायी कमल श्रीवास्तव भन्छन्, ‘यसपालि भाउ घटेन, यसले गर्दा किन्नेलाई पनि गाह्रो भएको छ, बेच्नेलाई पनि ।’
उनले भनेको जस्तै तरकारीको भाउ हेर्ने हो भने पनि उस्तै अवस्था देखिन्छ । गत वर्ष मंसिरमा गोलभेँडा सानो ९लोकल० को भाउ औसतमा १९।५० रुपैयाँ प्रतिकिलो थियो भने यो वर्ष सानो गोलभेँडा ८५ रुपैयाँ छ ।
मंगलबार कालीमाटी बजार तरकारी भाउ घटेको छ, तर पनि मंगलबार रातो आलु ७० रुपैयाँ किलो थियो । तर, १० मंसिर २०८० मा रातो आलुको औसत मूल्य ४७ रुपैयाँ थियो ।
गत वर्ष सोही मितिमा आलु रातो भारतीयको औसत मूल्य किलोको ३९ रुपैयाँ थियो भने मंगलबार ६५ रुपैयाँमा किनबेच भयो । त्यस्तै प्याजको भाउ किलोको १ सय ५ छ भने गत वर्ष ९५ रुपैयाँ थियो ।
मंगलबार स्थानीय बन्दागोभी किलोको १ सय रुपैयाँ थियो । तर, गत वर्ष यही मितिमिा ३५ मात्र थियो । यो ६५ रुपैयाँको अन्तर हो । यस्तै स्थानीय काउलीको भाउ १ सय छ भने गत वर्ष औसत किलोको १२ रुपैयाँ थियो ।
मंगलबार लाम्चो भन्टाको मूल्य ८० रुपैयाँ किलो थियो भने गत वर्ष ६५ रुपैयाँ कम थियो । १० मंसिर २०८० मा लाम्चो भन्टा १५ रुपैयाँ थियो । रातो मुला ४५ रुपैयाँ किलोमा किनबेच भइरहेको छ भने गत वर्ष १२ रुपैयाँ थियो । त्यस्तै मकै बोडी गत वर्षको तुलनामा दोब्बर छ । गत वर्ष मंसिर १० मा ३५ रुपैयाँमा किनबेच भएको मकैबोडी मंगलबार ७० रुपैयाँ किलो थियो ।
गत वर्ष रायो साग ३५ रुपैयाँ किलो थियो । मंगलाबर ५० भन्दा बढी थियो । तने बोडी १ सय ४० मा किनबेच भएको थियो । गत वर्ष यसको मूल्य यही समयमा ५५ रुपैयाँ मात्रै थियो । कालीमाटी तरकारी बजारमा मटरकोसा १ सय ४० रुपैयाँ किलो छ भने गत वर्ष ९५ रुपैयाँ थियो ।
किन बढ्यो भाउ
तरकारी ढुवानीकर्ता, व्यवसायीका अनुसार यो पटक अत्यधिक भाउ बढ्नुका कारण मुख्यतः दुइटा छ । एउटा गत असोजको दोस्रो साता आएको अविरल वर्षाले पुर्याएको क्षति हो ।
बल्खु तरकारी तथा फलफूल व्यवस्थापन समितिका कार्यकारी निर्देशक रामकृष्ण कुँवरका अनुसार उपत्यकाका वरपर धेरै तरकारी उत्पादन हुने जिल्लामा नै बाढीले क्षति पुर्याउँदा अहिले असर परेको हो ।
‘काभ्रे, ललितपुर जस्ता क्षेत्रमा नै धेरै क्षति भयो, त्यहाँबाट आउने तरकारीले उपत्यकाको धेरै माग धान्ने गरेको थियो । अहिले त्यहाँ बाढीले पुर्याएको क्षतिले उत्पादन छैन । त्यो कारणले मूल्य उच्च भएको हो,’ कुँवर भन्छन् ।
उनले तरकारी धेरै उत्पादन हुने मधेश प्रदेशका जिल्लामा पनि यो पटक उत्पादन कम भएको छ । ‘मधेशका जिल्लाबाट भर्खरै तरकारी आउन थालेको छ । यो बीचमा दुईरतीन महिना राम्ररी तरकारी काठमाडौं आएन,’ उनी भन्छन् ।
भारतबाट आएन तरकारी, टनेल खेतीमा भएन राम्रो उत्पादन
तरकारी तथा फलफूल व्यवसायी महासंघ अध्यक्ष खेम घिमिरेका अनुसार अहिले भारतबाट तरकारी आयात कम हुँदा मूल्य उच्च भएको हो । ‘भारतमा अहिले तरकारीको मूल्य एकदम उच्च छ, जसले गर्दा नेपालमा तरकारी आउन छाडेको छ । त्यसै कारण अहिले तरकारी भाउ अस्वाभाविक भएको हो,’ घिमिरेले भने ।
उनका अनुसार नेपालमा दैनिक १ हजार ८ सय टन तरकारी र ७ सय टन फलफूल खपत हुने अनुमान छ । जसमध्ये ४० प्रतिशत भारत सहित देशबाट आयात हुने गरेको छ ।
भारतबाट तरकारी नआउँदा नेपाली भान्सामा प्रभाव पर्छ । घिमिरेले उच्च मूल्यवृद्धि हुनुको अर्को कारण आन्तरिक उत्पादनमा समस्या भएकाले तरकारीको भाउ बढेको हो ।