देशभर जाडो बढ्दै
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ ।
आज बिहान पौने ६ बजेको मापनमा न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ । यति नै न्युनतम तापक्रम सोमबार पनि थियो । मंगलबार भने काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन भएको थियो ।
मौसमविदले आगामी दिनमा तापक्रम घट्ने क्रम अझै जारी रहने बताएका छन् । त्यसैले चिसोबाट जोगिन आवश्यक पूर्वतयारीका काम गर्न जल तथा मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ ।
मौसमविद् सञ्जिव अधिकारीले भने, ‘जाडो क्रमशः बढ्दै गइरहेको छ । तर यही बेला विगतको औसत तापक्रमसँग तुलना गर्ने हो भने चाहिँ सामान्य नै छ ।’
स्थिर खालको वायुमण्डल भएकाले तराई मधेश र पहाडी भेगमा हुस्सु लाग्ने र त्यो केहीबेरसम्म रहीरहने गरेको मौसमविद अधिकारीले बताए । आज बिहान पनि काठमाडौं उपत्यका, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।
काठमाडौंमा हुस्सु लागे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण भने सामान्य छ । अहिले काठमाडौं विमानस्थलको भिजिबिलिटी ४ हजार ५०० मिटर रहेको मौसमविद अधिकारीले बताए ।
जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा चिसो जुम्लामा छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४।५ छ ।
यसैगरी जोमसोममा शून्य, जिरीमा ४.७, डडेलधुरामा ७.३, ओखलढुंगामा ७.६ र ताप्लेजुङमा ८.२ डिग्री सेल्सियस मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । तर एक-दुई दिन काठमाडौं उपत्यकामा वर्षाको सम्भावना भने देखिएको छैन ।
पानी पर्ने सम्भावना कस्तो
मौसमविद अधिकारीका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना छैन । तर कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा छिटफुटदेखि हल्का किसिमको वर्षा हुने सम्भावना देखिने उनले बताए ।
विगत चौबिस घण्टामा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा फाटफुट पानी परेको छ ।
साथै कोशी र गण्डकीका हिमाली भूभागका एक–दुई ठाउँमा आज हिमपात पनि हनसक्ने सम्भावना छ । पहाडी र हिमाली भूभागको मौसम आजको तुलनामा भोलि र पर्सि अझै राम्रोसँग खुल्ने सम्भावना छ ।
‘आज पनि राम्रो नै छ र तर भोलि र पर्सि अझै राम्रो हुन्छ,’ मौसमविद अधिकारीले भने ।