दुई बुँदे माग राखेर प्राध्यापक र कर्मचारीले खुला विश्वविद्यालमा लगाए ताला
काठमाडौं । दुई बुँदे माग राखेर नेपाल खुला विश्वविद्यालयका प्राध्यापक र कर्मचारी आन्दोलित भएका छन् ।
स्थायी प्रक्रिया नगरेको र ऐनमा भएको सेवा सुविधा नपाएको भन्दै आज देखि प्राध्यापक र कर्मचारी आन्दोलित भएका हुन् । आन्दोलित प्राध्यापक र कर्मचारीले उपकुलपति र रजिस्ट्रार र डिन कार्यालयमा ताला लगाएका छन् ।
सातौं सिनेटको बैठकले स्थायी प्रक्रिया अगाडि बढाउन निर्देश्नन दिएको थियो । तर, अहिलेसम्म पनि प्रक्रिया अगाडि नबढाएपछि आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका उपप्राध्यापक भोजराज घिमिरेले बताए ।
‘विश्वविद्यालयको सातौ सभाले कार्यकारीलाई एक पटकको लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न निर्देशन दिएको थियो । शिक्षा मन्त्रीको अध्यक्षतामा बसेको सभाले हो । फेरि अर्को सिनेट बस्ने तयारी छ । तर माग सम्बोधन भएन,’ उनले भने ।
कार्यकारी परिषद्को आइतबारको बैठकमा सोमबार माग सम्बोधन गर्ने सहमति भएको थियो । तर, सोमबार निर्णय गर्ने भनिएको बैठक उपकुलपति शिलु मानन्धर बज्राचार्यले बैठक स्थगित गरेपछि आन्दोलनमा उत्रनु परेको घिमिरेले बताए । ‘निर्णय गर्न बस्ने भनिएको कार्यकारी परिषद्को बैठक अन्तिम समयमा स्थिगित हुनुमा आशंका छ । छलफल नगरी उहाँले बैठक स्थगित गर्नुभयो,’ घिमिरेले भने ।
खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीन वटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो । तर, स्थायीको प्रक्रिया अहिलेसम्म नि अगाडि बढेको छैन ।
आन्दोलनमा उत्रिएका प्राध्यापक र कर्मचारीलाई उपकुलपति बज्राचार्यले प्रहरी प्रशासन लगाएर धम्की दिएकी छिन । ‘प्रहरी आएर ताला खोल्न धम्किए दिएर गए । प्रहरी उपकुलपतिले पठाउनु भएको हो,’ घिमिरेले भने ।
‘सामाजिक सुरक्षा, पेन्सन उपदान र बिमाको व्यवस्था पनि वञ्चित गरिएको छ,’ घिमिरेले भने । प्राध्यापक र कर्मचारी गरेर ३५ जना आन्दोलित भएका हुन ।