

भन्सार कार्यालयबाट जाँचपास भएर निस्केका मालवाहक साधनहरूलाई ट्राफिक प्रहरीले दुःख दिएको आरोप

काठमाडौं । भन्सार कार्यालयबाट जाँचपास भएर निस्केका मालवाहक साधनहरूलाई ट्राफिक प्रहरीले दुःख दिएको विराटनगर भन्सार एजेन्ट सङ्घले आरोप लगाएको छ ।
भन्सार एजेन्टहरूको छलफल कार्यक्रममा व्यवसायीहरूले ट्राफिक प्रहरीले दुःख दिएको आरोप लगाएका हुन् । विराटनगर भन्सार एजेन्ट केही महिनादेखि भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएका औद्योगिक कच्चा पदार्थ माल, मेसीनरी तथा अन्य आयातित वस्तुहरू बोकेको मालवाहक साधनहरू उद्योगसम्म पुर्याउदा ट्राफिक प्रहरीले दुःख दिएको भन्दै नेपाल राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय इटहरीलाई पत्र लेखेको छ ।
ट्राफिक प्रहरीले ओभर लोड लगायत विभिन्न कारण देखाई ढुवानी साधनहरू समातेर दुःख दिने,अनावश्यक जरिवाना लिई हैरानी दिने दुई, तीन दिनसम्म होल्ड राख्ने गरेको गुनासो गरेका छन् ।
ट्राफिक प्रहरीको यस्तो व्यवहारको कारण उद्योगी व्यवसायीहरूले ढुवानी साधनमा अप्रत्यक्ष हर्जना तिर्नु परेको र व्यापार व्यवसाय सञ्चालनमा प्रत्यक्ष असर पर्न गएको गुनासो गरेका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई सम्बोधन गर्दै लेखिएको पत्रमा गृह मन्त्रालयले २०७६ सालमा नै व्यवसायीहरूलाई दुःख नदिन भनेर पत्र लेखेको स्मरण गराउँदै सो पत्रको अक्षरशः पालना गराउन समेत विराटनगर भन्सार एजेन्टले माग गरेको छ ।

