कुन देशको भ्रमण पहिले गर्ने भन्ने टन्टाबाट मुक्त हुनुस् : ओलीलाई नेपालको सुझाव
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन प्रधानमन्त्री केपी शर्मालाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामुहिक छलफलमा नेपालले जुन देशले पहिले निम्ता दिन्छ त्यही देशको भ्रमण हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । त्यही भ्रमणको तयारी अन्तर्गत प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामुहिक छलफल गरेका हुन् ।
‘यो देशको भ्रमण पहिले गर्ने, त्यो देशको भ्रमण दोस्रो गर्ने भन्ने यो टन्टाबाट मुक्त हुनुपर्यो । जसले पहिलो निम्तो दिन्छ त्यहीँ जाने’ छलफलमा राखेको विषयवस्तुबारे पूर्वप्रधानमन्त्री नेपालले भने ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् । नेपालका प्रधानमन्त्रीहरुले पहिले औपचारिक भ्रमण भारतबाट गर्ने गरेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नआएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । चीन भ्रमणका एजेण्डाबारे ओलीले आज सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग संयुक्त छलफल आयोजना गरेका थिए ।
‘कुनै पनि छिमेकी मुलुकहरुविरुद्धमा नेपाली भूमि प्रयोग गर्न दिइँदैन । यसअर्थमा हामी संसारका सबै देशहरुमा मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौं,’ नेपालले भने, ‘कसैसँग हाम्रो शत्रुता छँदा पनि छैन, हाम्रो त्यो चाहना पनि छैन । नेपाल शान्ति भूमि हो भन्ने कुरालाई ध्यानमा राखेर सबैसँग हामी सुमधुर सम्बन्ध राख्न चाहन्छौं ।’
छलफलमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले नेपाल शान्ति भूमि हो भन्ने कुरालाई ध्यानमा राखेर सबैसँग सुमधुर सम्बन्ध कायम राख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।