विराटनगरमा तस्करीको कपडा राखेको कोठामा छापा, १३ पोका बरामद
काठमाडौं । विराटनगरमा तस्करीको कपडा राखेको कोठामा प्रहरीले आइतबार छापा मारेको छ ।
भाडामा लिएर कपडा भण्डारण गरी राखेको कोठामा छापा हानिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार विराटनगरकै व्यक्तिले विराटनगर बजारभित्र कोठा भाडामा लिएर भन्सार छलीका कपडा राख्ने गरेको पाइएको छ ।
भारतबाट अवैध हिसाबले भित्राइएको कपडा भण्डारणस्थलमा मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशी नेतृत्वको टोलीले अपरान्ह ४ः३० बजेतिर छापा हानेको हो । त्यस क्रममा १३ पोका अवैध कपडा बरामद भएको छ । प्रहरीका अनुसार ४ वटा ठूला बोरा छन् भने ९ वटा साना पोका छन् ।
प्रहरीले छापा हानेको घर विराटनगर महानगरपालिका–२ स्थित बद्री ढकालको हो । ढकालको घरको २ वटा कोठा विराटनगर–१५ का अन्दाजी ३५÷४० वर्षीय आनन्दकुमार साहले भाडामा लिएर तस्करीका कपडा राख्ने गरेको पत्ता लागेको छ । साह मोरङका नामुद कपडा तस्कर रहेको प्रहरीले जनाएको छ ।
फरार रहेका उनको खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार कोठाभित्र कुर्ता सुरुवाललगायतका कपडा मात्रै थिए । साहले कहिलेदेखि कोठा भाडामा लिएका हुन् भन्ने खुलेको छैन । भाडाबापत मासिक ५ हजार रूपैयाँ तिर्ने गरेको प्रहरीको भनाइ छ ।
बरामद भएका कपडाका पोका जिल्ला प्रहरी कार्यालयमा लगेर राखिएको छ । मूल्य यकिन हुन नसकेको र अन्दाजी १० लाख रूपैयाँ बराबरको कपडा हुनसक्ने अनुमान प्रहरीको छ । प्रहरीका अनुसार पोका खोलेर मूल्यांकन गरेपछि मात्रै मूल्य पत्ता लाग्छ ।
एसपी चिमरियाले यस विषयमा थप अनुसन्धान भइरहेको र बरामद भएको कपडा आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट तस्करीकै कपडा राख्नका लागि मात्रै कोठा भाडामा लिएको पाइएको छ ।