लैङ्गिक हिंसाविरुद्ध काठमाडौँ महानगरले १६ दिने अभियान सञ्चालन नगर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने भएको छ ।
महानगरले आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरले अभियानका रूपमा सञ्चालन गर्दै आएको ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रममा राज्यबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेकाले ६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने जनाएको हो ।
महानगरले वर्षैभरि लैङ्गिक हिंसाविरुद्धमा कार्य गर्नेगरी आवश्यक नीति, कानुन, कार्यक्रम र बजेट तर्जुमा गरी सञ्चालन गर्दै आइरहेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
प्रवक्ता मानन्धरले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘महानगरपालिका क्षेत्रभित्र जोखिममा परेका, विशेष संरक्षणको आवश्यकता भएका र घरेलु बाल श्रमिकका रूपमा श्रम शोषण तथा यौन शोषणमा परेका बालबालिका समेतको उद्धार, अस्थायी संरक्षण, स्वास्थ्य उपचार, कानुनी उपचार, शैक्षिक सुविधा जस्ता न्यायोचित र संविधान प्रदत्त मौलिक हकको प्रचलन गराउन ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रम मार्फत अभियानकै रूपमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका लैङ्गिक हिंसाविरुद्धका कार्यक्रममा राज्यका अन्य सम्बद्ध निकाय र पदाधिकारीहरूबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको पृष्ठभूमिमा देखावटी रूपले कृत्रिमता प्रदान गर्ने गरी १६ दिनलाई मात्र लैङ्गिक हिंसा विरुद्धको अभियानका नाममा कार्यक्रम सञ्चालन गर्नु नाटकीय हुने र नैतिकताका आधारमा समेत जायज मान्न नसक्ने भएकाले यस वर्षको उक्त अभियान अन्तर्गतका कुनै पनि कार्यक्रम तथा गतिविधिहरू काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालन नगरिने तर लैङ्गिक हिंसाविरुद्धका वार्षिक कार्यक्रमहरू भने निरन्तर सञ्चालन गरिने ब्यहोरा यसै विज्ञप्ति मार्फत सम्पूर्णमा जानकारी गराइन्छ ।’