पछिल्लो समय हलमा स्वदेशी फिल्मको कब्जा, विदेशीलाई टिक्नै मुस्किल
काठमाडौं । पछिल्लो दुई महिनायता नेपाली सिनेमा हलमा स्वदेशी फिल्मको दबदबा देखिएको छ। असोजदेखि मंसिरको पहिलो सातासम्म हलमा लागेका फिल्ममध्ये नेपाली फिल्मले मात्रै दर्शकहरूको साथ पाएका हुन्।
सन् २०१० मा ‘बिग सिनेमाज्’को स्थापनासँगै नेपालमा पहिलोपटक मल्टिप्लेक्सको सुरुवात भएको थियो। त्यसको ८ महिनापछि क्यूएफएक्स सुरु भएको थियो।सुरुवातताका मल्टिप्लेक्स हलहरूको मुख्य आर्यआर्जनको स्रोत नै विदेशी फिल्म थिए। नेपाली फिल्मलाई सिगंल थिएटरले ठाउँ दिए पनि मल्टिप्लेक्सको प्राथमिकतामा विदेशी फिल्महरू पर्थे। अझ हिन्दी फिल्म भन्नेबित्तिकै हलहरूले केही नहेरी अत्याधिक सो दिन्थे। जसले नेपाली निर्माताहरूले विदेशी फिल्मसँग जुध्ने आँट विरलै गर्थे।
तर, पछिल्लो दुई महिनामा नेपालका हलहरू नेपाली फिल्मकै कब्जामा छन्। नेपाली फिल्महरू दर्शकहरूको रोजाइमा परेपछि हल सञ्चालकले बाध्य भएर बढी सो उपलब्ध गराएका छन्। असोज ३ गते उपासना सिंह ठकुरी र धिरज मगर अभिनीत ‘खुस्मा’ रिलिज भएको थियो। दर्शकहरूबाट राम्रो साथ पाएको यस फिल्मले ६ करोड बढीको व्यापार गर्न सफल भयो।
, जब सन् २०१२ मा निश्चल बस्नेतको ‘लुट’ रिलिज भयो, तब यस फिल्मले मल्टिप्लेक्स हलको व्यापारमा वृद्धि गर्यो। सिंगलसहित मल्टिप्लेक्स हलहरूमा फिल्म हिट बन्यो। नेपाली फिल्म भनेपछि रुचि नराख्ने दर्शकहरूलाई ‘लुट’ले हलसम्म तान्यो। त्यसैले त ‘लुट’ बाट मल्टिप्लेक्स हलहरूमा नेपाली फिल्म हेर्ने संस्कृति बसेको मानिन्छ।
त्यसपछि मल्टिप्लेक्स हलहरूले नेपाली फिल्मलाई पनि पत्याउन थाले। यद्यपि, हिन्दी फिल्मसँग जुध्दा नेपाली निर्माताले कम सो पाउने समस्या झेल्नुपर्यो। हलिउडको ‘स्पाइडरम्यान’ रिलिज हुँदा होस् वा साउथको ‘पुष्पा’। ‘अवतार’देखि ‘केजीएफ २’ सम्म रिलिज हुँदा नेपाली निर्माताहरूले सो बाँडफाँटको विभेद भोग्न बाध्य भए। कतिपय फिल्महरूले कम सो पाउने भएपछि रिलिज मिति नै सारेका थिए।
चाडपर्व आउँदा नेपाली फिल्मबीच प्रदर्शनका लागि होडबाजी चल्छ। यसवर्ष पनि दसैँलक्षित तालिकामा आधा दर्जन नेपाली फिल्म अटाए। दसैँ आउन एक साताअघि ‘सानो संसार’ र ‘आँखा’ रिलिज भए। तर, यी फिल्म दुई–तीन दिन पनि हलमा टिक्न सकेनन्। बाढीपहिरोको विपद् यही बेला आयो र निर्माताले हलबाट फिल्म उतारे।
दसैँको अवसरमा रिलिज भएका नेपाली फिल्महरूले भने दर्शकबाट भरपूर साथ पाए। असोज १७ गते घटस्थापनादेखि हलमा लागेको स्वस्तिमा खड्का र निश्चल बस्नेतको ‘बेहुली फ्रम मेघौली’ले चार करोड बढी कमाइ गरेको थियो। यद्यपि, निश्चलले कम सो पाएको भन्दै कात्तिक १ गतेबाट फिल्म हलबाट झिक्दै ओटीटीमा ल्याए।
फूलपातीको दिनबाट तीन नेपाली फिल्मसहित एक बलिउड फिल्म हलमा लागे। दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’ र विराज भट्टको ‘१२ गाउँ’ले बक्सअफिसमा आक्रामक व्यापार गरे। सुरुवातमा सुस्त व्यापार गरे पनि जितु नेपालको ‘ज्वाइँ साब’ ले राम्रै कमाइ गर्यो। हलमा नेपाली फिल्म व्यापक चल्दा आलिया भट्ट अभिनीत बलिउड फिल्म ‘जिगरा’ थला पर्यो। ‘छक्का पञ्जा ५’ ले २० करोड हाराहारीमा व्यापार गर्दा सातौँ हप्तामा प्रदर्शनरत ‘१२ गाउँ’ ले २५ करोड ५० लाख कमाइ गरिसकेको छ।
‘सानो संसार’ कात्तिक ९ गते पुनस् हलमा लागेको थियो। तर, प्रचारप्रसार नहुँदा उत्कृष्ट प्रतिक्रिया पाए पनि फिल्मले पर्याप्त सो पाउन सकेन। जसकारण यो फिल्म नेपाली फिल्मकै चेपुवामा पर्यो भन्दा फरक नपर्ला१
कात्तिक १५ गतेबाट ‘पूर्ण बहादुरको सांरगी’ हलमा लागेको थियो। पहिलो दिन १०८ सो पाएको यस फिल्मले सुरुवाती दिनमा सुस्त व्यापार गरेको थियो। ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को दबदबा। त्यसमाथि भोलिपल्टबाटै बलिउडका ठूला फिल्म ‘सिंगम अगेन’ र ‘भुलभुलैया ३’ रिलिज हुनु। जसकारण तीन दिन फिल्मले खासै राम्रो व्यापार गर्न सकेन। तर, बलियो वर्ड अफ माउथपछि फिल्मले पिकअप लिन थाल्यो।
यतिसम्म कि ‘पूर्ण बहादुरको सांरगी’कै कारण बलिउडका ठूला फ्रेन्चाइज फिल्महरू छायामा परे। अजय देवगन र कार्तिक आर्यनजस्ता ठूला स्टारका फिल्महरूमा दर्शक नआएपछि हलहरूले पनि बाध्य भएर ‘पूर्ण बहादुरको सांरगी’लाई सो दिन थाले। जसकारण पछि वितरकले ‘सिंगम अगेन’लाई हलबाटै उतारे।
नेपाली फिल्मको गति यतिमै सीमित रहेन। नेपाली फिल्मकै कारण सम्भवतस् पहिलोपटक विदेशी फिल्म ‘कंगुवा’ नेपाल आउन सकेन। सूर्या र बबी देओलको मुख्य भूमिका रहेको यो फिल्म ए–एट्सहित डीसीएन र आरआर फिल्म्सले मिलेर ल्याउन लागेका थिए। तर, घरेलु बक्सअफिसमा नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ले आक्रामक व्यापार गरिरहँदा वितरकले सो नपाउने डरले फिल्म ल्याउन हिम्मत गरेनन्।
अत्यधिक सो पाउन सफल ‘पूर्ण बहादुरको सांरगी’ले बक्सअफिसमा विभिन्न रेकर्ड बनाइसकेको छ। सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड कायम गरिसकेको फिल्मले तीन सातामा घरेलु बक्सअफिसमा ४० करोड हाराहारी कमाइ गरिसकेको छ। कात्तिक ३० गतेबाट रिलिज भएको नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’लाई पनि दर्शकहरूको राम्रो साथ छ। यस फिल्मले एक सातामा ५ करोड कमाइसकेको छ।
कलाकार दीपकराज गिरी हलमा नेपाली फिल्मको दबदबा देख्दा निकै खुसी लागेको बताउँछन्। यो ट्रेन्डले राम्रो फिल्म हुँदा नेपालीहरूले नेपाली फिल्मलाई मन पराउने भाष्य निर्माण भएको उनको भनाइ छ।
‘यसले नेपाली सिनेमाको मार्केट रहेछ भन्ने देखाएको छ। बानी लागेपछि नेपालीले नेपाली फिल्म नै हेर्छन्। यो कुरा यसअघि छक्का पञ्जा, कबड्डी र जात्रा लगायतका फिल्ममा पनि लागू भएको थियो,’ गिरीले भने,‘पछिल्लो ट्रेन्डले राम्रो प्रचार हुँदा र कथा राम्रो हुँदा नेपालीले नेपाली सिनेमा मन पराउँछन् भन्ने भाष्य निर्माण भएको छ। पहिले पनि शाहरूख खान र सलमान खानका फिल्महरू आउँथे। तर, नेपालीले बाजी मार्न थालेपछि हिन्दी फिल्म यसरी नै पाखा लागेका छन्। यसले हाम्रो फिल्मक्षेत्र राष्ट्रिय रूपमा स्थापित हुनसक्छ।’
नेपाली फिल्म बक्सअफिसमा निरन्तर सफल भइरहेको क्यूएफएक्सकी प्रबन्ध निर्देशक तृप्ति गिरी बताउँछिन्।
‘केही महिनादेखि हलमा नेपाली फिल्मकै दबदबा छ। पूर्णबहादुरको सारंगी सहित ह्रस्व दीर्घले पकड छाडेको छैन। नेपाली फिल्मकै कारण भारतीय फिल्म कंगुवा नेपाल आउन सकेन। लागिरहेको ठूलो फिल्म सिंगम अगेन पनि वितरकले हटाउनुपर्ने अवस्था आयो। यसले नेपाली फिल्मले पनि हिन्दी फिल्मलाई टक्कर दिन सक्छन् भन्ने देखाएको छ। यो नेपाली फिल्मको लागि ठूलो उपलब्धि हो,’ उनले भनिन्।
साथै पछिल्लो समय सिनेमाहलमा दर्शकहरूको संख्या बढेको उनको दाबी छ।
भन्छिन्, ‘पूर्ण बहादुरको सांरगीले हलमा दर्शकहरूको फ्लो पनि बढेको छ। कहिल्यै नआउने दर्शक पनि परिवारसहित हल पुगेका छन्। राम्रो हुँदा नेपाली फिल्म पनि हेर्न सकिन्छ भन्ने देखाएको छ। हामीलाई पनि नेपाली फिल्म चल्दा नै फाइदा हुन्छ। तर, यो निरन्तरता कहिलेसम्म हुन्छ भन्ने डर छ। नत्र हललाई पनि हिन्दी फिल्म देखाउनुपर्ने बाध्यता नै हुन्छ।’
शुक्रबारदेखि हलमा विपिन कार्की र वर्षा राउतको फिल्म ‘तेल भिसा’ सहित बोक्सीप्रथामा आधारित फिल्म ‘अग्निदहन’ हलमा लागेका छन्। मल्टिप्लेक्समा ‘तेल भिसा’ले राम्रो सो पाउँदा ‘अग्निदहन’ले औसत सो पाएको छ। बलियो माउथ पब्लिसिटी पाए यी फिल्महरूले बक्सअफिसमा राम्रो गर्न सक्छन्।