आजदेखि ललितपुरमा फिल्म साउथ एसिया महोत्सव सुरु
काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण आजदेखि ललितपुरमा सुरु हुँदैछ ।
ललितपुरको यलमाया केन्द्रमा हुने चारदिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछन् । महोत्सवमा नेपाल सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायत नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।
महोत्सवका सहायक निर्देशक पवस मानन्धरका अनुसार यस वर्षको महोत्सवको थिम ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ छ ।
बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ । निर्देशनसम्बन्धी कार्यशाला पनि हुनेछ । वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव फलदायी हुने विश्वास छ ।
यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको छ । उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डका लागि प्रतिस्पर्धा हुनेछ ।
कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थिति समेत रहने बताइएको छ । महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी छ ।