बीआरआईबारे कांग्रेसलाई ‘कन्भिन्स’ गर्ने ओलीको प्रयास
काठमाडौँ । प्रधानमन्त्रीको आसन्न चीन भ्रमण बीआरआईबाट नेपालले लिनसक्ने फाइदाका बारेमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच लामो संवाद भएको छ ।
मंसिर तेस्रो साता ९मंसिर १७ देखि २१०हुने प्रधानमन्त्री ओलीको चीन भ्रमणका वेला उक्त परियोजनामा हस्ताक्षर गरेर नेपालको विकासलाई तीव्रता दिन सकिने प्रधानमन्त्री ओलीको बुझाइ छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार झन्डै ६ घण्टा भएको शीर्ष नेताको छलफलमा प्रभावकारी सरकार सञ्चालन र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलगायतका विषयमा छलफल भएको हो ।
‘खासगरी सरकारका कामकारबाही कसरी प्रभावकारी बनाउने भन्ने विषयमै छलफल बढी केन्द्रित भयो,’ छलफलमा सहभागी एक नेताले भने, ‘प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेट र नीति कार्यक्रम अनुसार काम गर्नुपर्ने बाध्यता सरकारलाई छ । यो बाध्यताकाबिच पनि सरकारका कामलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर कुराकानीहरू भए ।’
अहिलेसम्म बीआरआइबारे सत्तारुढ दल एमाले र काँग्रेसको बुझाइमा एकरूपता छैन । नेपाली कांग्रेस बीआरआई अन्तर्गतका योजनाहरू अनुदान भएमात्र स्विकार्न सकिने पक्षमा छ भने एमाले सस्तो ऋण नै भएपनि लिनुपर्ने पक्षमा छ । यही विवादका कारण बीआरआई प्रस्तावमा नेपालले लामो समयदेखि हस्ताक्षर गर्न सकेको छैन ।
तर, कांग्रेस नेताहरू ओलीको प्रस्ताव मान्न अझै तयार भैसकेका छैनन् । बीआरआइबारे पहिला दुई दलको तहमा समझदारी जुटाउने र त्यसपछि अन्य दलका नेताहरूसँग समेत छलफल गरेर अघि बढ्ने रणनीति प्रधानमन्त्री ओलीको छ । सोही अनुसार दुई दलका शीर्ष नेता मंगलबार बालुवाटारमा लामो छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्रीसहितको बालुवाटार छलफलअघि मंगलबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि बीआरआई र प्रधनमन्त्रीको चीनभ्रमणबारे छलफल गरेका थिए । सभापति देउवाले दुई महामन्त्रीलाई आफ्नै निवासमा बोलाएर बीआरआईको फाइदा बेफाइदाबारे जिज्ञासा राखेका थिए ।
सभापति देउवासँगको छलफलबारे महामन्त्री विश्वप्रकाश शर्माले खुलेर बोल्न चाहेनन् । ‘पार्टी सभापतिसँग समसामयिक राजनीति,पार्टी काम र उपनिर्वाचन लगायतमा छलफल भएको हो’, शर्माले भने ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्व सन्ध्यामा चिनियाँ पक्षले बीआरआईअन्तर्गत कम्तीमा चार परियोजनामा सहयोग गर्ने प्रस्ताव पठाएपछि प्रमुख सत्तारुढ दुई दलले यसबारे आफ्नो पार्टी र सत्ता साझेदारबिच चासोका साथ छलफल थालेका हुन् ।
स्रोतका अनुसार चीनले टोखा–खहरे सुरुङ मार्ग, रसुवागढी–काठमाडौँ सडक स्तरोन्नति, कोरला नाकामा सुक्खा बन्दरगाह र एक जलविद्युत् आयोजनामा लगानी गर्ने प्रस्ताव राखेको छ । उक्त प्रस्तावसँगै पोखरा विमानस्थल निर्माण गर्दाको ऋण मिनाहा पनि समेट्न प्रधानमन्त्री ओलीले चाहेका छन् । पोखरा विमानस्थलबारे ओलीको यो प्रस्ताव चीनले स्वीकारे सत्ता साझेदार दल काँग्रेस पनि सहमत हुने ओलीको बुझाइ छ ।
स्रोतका अनुसार सकभर अमेरिकी परियोजना एमसीसी जस्तै बिआरआई पनि टुङ्ग्याउनुपर्नेमा दुई दलका नेताहरू लगभग सहमत छन् तर सबै पक्षलाई कसरी विश्वासमा लिने भन्नेबारे विभिन्न कोणबाट कुराकानी जारी नै रहेकाले निचोडमा पुग्न बाँकी रहेको छ ।
मंगलबारको बालुवाटार छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेता सहभागी रहेका थिए । मंगलबार बोलाएको मन्त्रिपरिषद् बैठक नै स्थगित गरेर नेताहरू छलफलमा जुटेका हुन् ।
उनले दुई देशबिचको सम्बन्धका विषय धेरै हुने भन्दै बजारमा हल्ला गर्न जरुरी नभएको प्रतिक्रिया दिए । ‘परिणाम नआएसम्म बोल्न ठिक हुँदैन’, रिमालको भनाइ छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक तालिका सार्वजनिक नभएपनि परराष्ट्रमन्त्री आरजु राणा मंसिर १४ गते प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि त्यसतर्फ जाने कार्यक्रम तय भएको बताइएको छ ।
उनी मंसिर ११ गते जापान जाने र त्यतैबाट चीन जानसक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरुको भनाइ छ । उनीहरूका अनुसार मंसिर १५ गते परराष्ट्र मन्त्री राणा र चिनियाँ विदेश मन्त्री वाङ यीबिच बेइजिङमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।