रविलाई सोधेर मात्र आन्दोलनको कार्यक्रम बनाउने रास्वपालको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेसँग परामर्श गरेर मात्र आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।
८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको रास्वपाले कार्यक्रम तय गर्न मंगलबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको थियो । बैठकले आन्दोलनको कार्यक्रमबारे कुनै निर्णय गरेन ।
उपसभापति डीपी अर्यालले सभापति लामिछानेसँग भेटेर फर्किएपछि भोलि बैठक बस्ने र आन्दोलनको मोडालिटी तय गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् ।
लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले सुरुमा सडक प्रदर्शन गरेको थियो । तर अदालतले लगातार म्याद थप गरेपछि पछिल्ला दिनमा सडक प्रदर्शन गरेको छैन ।