पूर्वडीआईजी जोशीलाई काठमाडौँ ल्याइँदै
काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँमा ल्याउन लागिएको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए ।
जोशी सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए । स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेलसँग बयान लिएर काठमाडौँ प्रहरीले उनलाई पोखरा पठाएको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतले बताए ।
स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् । उनीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।