एसियन हाइवे : इटहरीमा प्रमाणीकरण गरिँदै
काठमाडौं । निर्माणाधीन एसियन हाइवे अन्तर्गत इटहरीमा अहिले प्रमाणीकरणको काम भइरहेको छ ।
कति घर भत्किन्छन् भन्नेबारे अहिले प्रमाणीकरणको काम भइरहेको हो ।काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका सूचना अधिकारी इन्जिनियर पल्लव श्रेष्ठकाअनुसार अहिले इटहरी क्षेत्रमा प्रमाणीकरणको काम भइरहेको छ ।
तत्काल इटहरीको लबीपुरसम्म सडक बन्नेछ । जसमा कति घर भत्किन्छन् भन्नेबारे यकिन भई नसकेको उनको भनाइ छ । ‘अब एक महिनाभित्रमा कति घर भत्किन्छन् भन्नेबारे यकिन हुन्छ,’ उनले भने, ‘अहिले भेरिफिकेसनकै चरणमा छ ।’
उनका अनुसार यति नै भन्ने नभएपनि इटहरीमा करिब एक सय घरहरू भत्किनेछन् । सडक क्षेत्राधिकारमा पर्ने घरको बरन्डा, घरको आधा भागसहित सो सङ्ख्यामा भत्किन सक्ने अनुमान गरिएको छ ।
मुआब्जा र क्षतिपूर्तिको विषयमा भने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले मूल्याङ्कन गर्ने उनले बताए । ‘क्षतिपूर्तिको मूल्याङ्कन सिडिओको अध्यक्षतामा बसेको बैठकले गर्छ,’ उनी भन्छन्, ‘त्यसबारे पछि बैठक बस्नेछ । अहिले भने प्रमाणीकरणको काम भइरहेको छ ।’
खासगरी बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ । साइड क्लियरेन्सको काम सकेको ठाउँमा अहिले सडक काम भइरहेको छ,’ इन्जिनियर श्रेष्ठले भने, ‘बत्तीको पोल भने सडक निर्माणसँगै सार्ने काम हुन्छ ।’
उनका अनुसार अहिले रूख कटानको काम सकेर साइड क्लियरेन्स भएका ठाउँमा भने सडक निर्माण भइरहेको छ । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म सडक बनाउने गरी डीपीआर र डिजाइन तयार गरिएको भए पनि तत्काल भने इटहरीको लबीपुरसम्म मात्रै सडक निर्माण हुने जनाइएको छ ।
अहिले काँकडभिट्टादेखि इटहरीसम्म पाँच वटा खण्डमा ठेक्का लागिसकेको छ । जसमा सडकबाहेक ६९ वटा कल्भर्ट, तीन सय मिटरभन्दा लामो तीन वटा पुल र तीन सय मिटरभन्दा कमको २८ वटा पुल निर्माण हुनेछ ।
जसमा तीन सय मिटरभन्दा लामो झापाको रतुवा र मोरङमा रहेका बक्राहा र लोहन्द्रा खोलाको पुल निर्माण हुनेछ ।चार लेनमा निर्माण हुने उक्त सडकको कामले गति लिइरहेको श्रेष्ठले बताए । अहिले कल्भर्ट निर्माण र साइडमा वाल लगाउने काम भइरहेको उनले जनाए ।
झापाको सितापुरीदेखि इटहरीको लबीपुरसम्म जम्मा ९५।७ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको छ । दुई खण्डमा कार्यालय स्थापना भएर अहिले धमाधम काम भइरहेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।
उनका अनुसार पूर्वी खण्डमा ४५ किलोमिटर र पश्चिम खण्डमा ५०।७ किलोमिटर सडकको काम भइरहेको छ । ‘जम्मा ३४ अर्ब ९० करोड रकममा ठेक्का लागेको रकममध्ये एसियाली विकास बैङ्क ९एडिबी०को ८४।१ प्रतिशत र १५।९ प्रतिशत नेपाल सरकारको लगानीमा सडक निर्माण भइरहेको छ,’ उनले भने, ‘तत्काल इटहरीको लबीपुरसम्म मात्रै बन्नेछ ।
बजेट अभाव र विविध कारणले लौकहीसम्म तत्काल नबन्ने भएको हो । खासगरी त्यस क्षेत्रको पनि डीपीआर र डिजाइन भने तयार भइसकेको छ ।’ सरकारले बजेट थप गरेको अवस्थामा भने लौकहीसम्मै सडक निर्माण हुने उनको भनाइ छ । २०२४ फेब्रुअरी २ बाट सुरु भएको योजना २०२७ फेब्रुअरी १ मा सम्पन्न गर्ने लक्ष्य छ ।
इटहरीमा तीन वटा ‘ओभर पास’
यसैगरी इटहरीमा तीन वटा ‘ओभर पास’ बन्नेछन् । ‘इटहरी खण्डमा बूढी खोलादेखि लबीपुरसम्म तीन वटा ओभर पास बन्नेछ,’ उनले भने, ‘इटहरी चोकमा एउटा ओभर पास बन्नेछ ।
जहाँ इष्ट वेस्ट हाइवे अन्तर्गत सवारी साधन माथिबाट सञ्चालन हुनेछ भने नर्स साउथको क्रसिङ तलबाट हुन्छ ।’ उनका अनुसार इटहरी चोकमा एउटा, इटहरी चोकभन्दा पूर्वतिर तालतलैया जाने क्षेत्रमा अर्को र पश्चिमतर्फ इटहरी बसपार्कबाट हाइवे आउने बाटोको कलङ्कीमा अर्को ओभर पास बन्नेछ ।
‘आरइ वाल कन्स्ट्रक्सन’ गरेर ‘ओभर पास’ बन्ने उनले बताए । खासगरी इटहरी चोकमा भने ४२ मिटरको चौडाइ र साढे ५ मिटरको उचाइमा ‘ओभर पास’ बन्ने उनले जनाए । ‘पूर्वतिर र पश्चिमतिर भने १३ मिटर चौडाइ र साढे ५ मिटर हाइटको ओभर पास बन्नेछ,’ उनले भने, ‘दुवैतिर साढे ६ मिटरको सर्भिस लेन, साढे ५ मिटरको फुटपाथ र साइकल लेन र बिचमा साढे ३३ मिटरको सडक गरी ५० मिटरमा काम भइरहेको छ ।’
यसैगरी ‘एसियन हाइवे’ अन्तर्गत इटहरीमा तीनसहित झापाको चारआली, बिर्तामोड, चारपाने, मोरङको बलियामा ‘ओभर पास’ बन्नेछन् । पूर्वी र पश्चिम गरी दुई खण्डमा बन्न लागेको यो आयोजना एसियन हाइवेको एउटा भाग हो ।
थाइल्यान्डको बैंककबाट सुरु भएको हाइवे म्यानमार, बङ्गलादेश, भारत हुँदै नेपालको पूर्व–पश्चिम राजमार्ग भएर नयाँ दिल्लीबाट पाकिस्तानको कराँची पुग्नेछ । भारतले पश्चिम बङ्गाल हुँदै
नेपालको काँकडभिट्टा नाकासम्म उक्त हाइवे विस्तार गरिसकेको छ ।