‘पृथ्वीबाट कार्बन सोस्ने क्षमता आधाले घट्यो’
काठमाडौं । युरोपीय अन्तरिक्ष एजेन्सीको सहयोगमा गरिएको एक अध्ययनले अत्यधिक गर्मीका कारण पृथ्वीबाट कार्बन सोस्ने क्षमता आधाले घटेको पत्ता लागेको छ ।
सन् २०२३ मा तातो हावाको लहरसँगै खडेरी र डढेलोका घटना बढेका थिए । त्यसले वायुमण्डलीय कार्बन सोस्ने क्षमता घटाइदिएको हो । जसका कारण वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर बढ्दा जलवायु परिवर्तनमा तीव्रता आएको आशंका छ ।
वैज्ञानिकहरुका अनुसार सामान्यतया जमिनले कार्बन डाइअक्साइड उत्सर्जनको करिब एक तिहाइ हिस्सा सोस्ने गर्दछ । तर नेशनल साइन्स रिभ्यूमा प्रकाशित अनुसन्धान रिपोर्टमा उल्लेख भएअनुसार सन् २०२३ मा यो क्षमता खस्किएको छ ।
शोधका अनुसार हवाईको मौना लोआ वेधशालाको मापनबाट थाहा हुन्छ कि सन् २०२३ मा वायुमण्डलीय कार्बनको मात्रा अघिल्लो वर्षको तुलनामा ८६ प्रतिशतले बढेको छ । यो १९५८ मा निगरानी सुरु गरेदेखिकै हालसम्मकै उच्च हो । यसको तीव्र वृद्धिका बाबजुद जिवाष्म इन्धन उत्सर्जन केबल ०।६ प्रतिशत वृद्धि भएको छ ।
फ्रान्सको जलवायु र पर्यावरण विज्ञान प्रयोगशालाका शोधकर्ताका अनुसार यो गिरावटको ३० प्रतिशत कारण सन् २०२३ को अत्यधिक गर्मी थियो । यही गर्मीका कारण जंगलमा डढेलो फैलियो । क्यानडामा जंगलको ठूलो क्षेत्र नष्ट भयो र अमेजनको जंगल क्षेत्रमा पनि खडेरी पर्यो । शोधकर्ताका अनुसार डढेलो र खडेरीका कारण वनस्पतिमा क्षति पुग्यो र कार्बन सोस्ने क्षमता कमजोर भयो ।
वैज्ञानिकहरुले मानवीय क्रियाकलापका कारण हुने कार्बन उत्सर्जन नघटेमा पृथ्वी संकटमा पर्ने चेतावनी दिँदै आएका छन् । त्यसैले पृथ्वीको जीवन जोगाइराख्न कार्बन उत्सर्जनमा कमी ल्याउनुपर्ने र जिवाष्म इन्धनको साटो नवीकरणीय ऊर्जामा जोड दिनुपर्ने वैज्ञानिकहरु बताउँछन् ।
अमेजन विश्वको सबैभन्दा बढी कार्बन सोस्न सक्ने स्थानको रुपमा परिचित छ । तर केही वर्षयता यसका केही हिस्सामा कार्बन सोस्ने भन्दा धेरै उत्सर्जन हुनसक्ने चिन्ता छ ।