‘पूर्णबहादुरको सारङ्गी १८ दिनसम्मको कमाइ ३६ करोड पुग्यो
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको तेस्रो सातामा पनि जादुमयी व्यापारलाई निरन्तरता दिइरहेको छ ।
यो अवधिमा पनि फिल्म ३०० भन्दा धेरै शोसहित प्रदर्शन भइरहेको छ । ‘सर्वकालीन ब्लकबस्टर’ यस फिल्मले धेरै व्यावसायिक कीर्तिमान रचिरहेको छ, जुन अझै जारी छ । अकुपेन्सीको यो ट्रेन्ड कायम रहे फिल्मले ४० करोडको आँकडा पार गर्ने प्रक्षेपण छ । यद्यपि, यसका लागि केही दिनसम्मको अकुपेन्सी ट्रेन्डलाई पर्खनुपर्छ ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १८ दिनसम्मको कमाइको विवरण सार्वजनिक गरेको छ । जसअनुसार २ मङ्सिर आइतबारसम्म फिल्मको कुल कलेक्सन ३५ करोड ९६ लाख रुपैयाँ छ । आइतबार मात्रै फिल्मले १ करोड ६० लाख ग्रस कमाएको छ ।
विजय बराल स्टारर यो फिल्म अहिले पनि ८० देखि शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शन भइरहेको छ । सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको यो फिल्म अहिलेसम्म सबैभन्दा नाफा गर्ने फिल्म समेत बनेको छ ।
विजयसहित अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको अभिनय रहेको यो फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा भन्छ ।