सहकारी ठगी प्रकरण कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने
काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ ।
जिल्ला प्रहरी प्रहरी भद्रकाली काठमाडौंले बयानका लागि रम्तेललाई गत शनिबार पोखराबाट काठमाडौं ल्याएको हो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि रम्तेललाई काठमाडौं झिकाइएको हो ।
परिसर स्रोतका अनुसार उनको बयान अन्तिम चरणमा पुगेका आजरभोलि नै पोखरा फिर्ता गराउने तयारी गरिएको छ । रम्तेल गत २५ भदौमा पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारी संस्थाका उनी कोषाध्यक्ष समेत हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए ।
रम्तेलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पनि काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ । रम्तेलको बयान सकिएपछि रवि र छविलाई काठमाडौं झिकाएर बयान गराइने परिसर स्रोतले जानकारी दियो ।
आइतबार काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले रवि र छवीविरुद्ध पक्राउ पूर्जी जारी गरेका थिए । यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो । लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।
यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु ९जीबी० राई हुन् । यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।
स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।