टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
काठमाडौं । मोरङमा टिपरले ठक्कर दिँदा शनिबार दिउँसो मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहन विक्रम दाहालका अनुसार मिक्स गिट्टी बोकेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको टिपरले को २० प ६०७ नम्बरको मोटरसाइकललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा दिउँसो २ः३० बजेतिर ठक्कर दिएको उनले बताए ।
दुर्घटनामा परेर मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको जानकारी डीएसपी दाहालले दिए । गम्भीर घाइते भएपछि उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएका उनीहरुको ३ः२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल क्षतिग्रस्त अवस्थामा रहेको जानकारी प्रहरीले दिएको छ ।
प्रहरीका अनुसार उक्त टिपर निर्माणाधीन पूर्व–पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग गरेको पत्ता लागेको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
थप अनुसन्धान भइरहेको डीएसपी दाहालले जानकारी दिएका छन् ।