

रवि लामिछानेको बयान सकियो

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपेन्देही पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
रास्वपाका सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले लामिछानेको बयान सकिएको बताइन् ।
‘बयान सकिएको छ । अब रुजु गरेर हस्ताक्षर गरेपछि हाम्रोतर्फको काम सकिन्छ । बयान आज सकिए पनि पोखरा फिर्ता गर्ने वा नगर्ने भन्नेबारे आफू भने जानकार नभएको उनले बताइन् ।
बयान सकिए पनि त्यसलाई नम्बरिङ गरेर क्रमवद्ध गर्न, शुद्धाशुद्धी हेरेर भाषा मिलाउन जिल्ला न्यायाधिवक्तालाई समय लागेकाले पूर्वनिर्धारित फ्लाइटमा पोखरा पठाउने समय तालिका परिवर्तन भएको जिल्ला प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार मौसमले साथ दिएमा साँझ ८ बजेसम्मको फ्लाइटमा लामिछानेलाई पोखरा पठाइने छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र ल्याउने गरिएको छ । बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न निषेध गरेको छ ।
सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको भेटिएको थियो । उक्त रकममध्ये करिब २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको भेटिएको थियो ।
जसमध्ये २ करोड रुपैयाँ त रविकै नाममा व्यापार कर्जा स्वीकृत गरेर लगेको भेटिएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरेको थियो ।
सहकारीको रकम अपचलनमा प्रत्यक्ष रुपमा लामिछाने नजोडिए पनि अपचलन भएर आएको रकम खर्च गर्ने काममा भने लामिछानेको समेत संलग्नता देखिएको संसदीय समितिले औंल्याएको थियो ।

