गण्डकीका पूर्वमन्त्री दीपक मनाङे काठमाडौंको सानो भर्याङबाट पक्राउ
काठमाडौं । ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।
प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने उनले बताए ।
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा। नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत हालको उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक(पटक मन्त्री बने ।