रास्वपाका सभापति लामिछानेलाई पोखराबाट रुपन्देही लगिंदै
काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ ।
बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी छ । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका रविलाई अनुसन्धानका लागि कास्की जिल्ला अदालतले कात्तिक २५ गते थप १३ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लगिने छ । त्यहाँ बयान गराइ आजै पोखरा फर्काउने तयारी छ । पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दाबी गर्दै आएको रास्वपाले आज बुटवलमा पनि विरोध प्रदर्शनको तयारी गरेको छ ।
त्यसैले स्थानीय प्रशासनले बुटवलको सुरक्षा व्यवस्था कडा पारेको छ ।