निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी फर्काउने योजना कार्यान्वयन गर्छु
काठमाडौं । अमेरिकामा भर्खरै सम्पन्न निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनालाई जोड दिएका छन् ।
एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले सीमा बलियो र शक्तिशाली बनाउँदै आप्रवासी फर्काउन पहिलो प्राथमिकता दिने बताए । उनले अगाडि भने, ‘प्रशासनसँग ठूलो मात्रामा आप्रवासीलाई निर्वासन गर्ने योजनाको विकल्पै छैन ।’
चुनावी अभियानको क्रममा ट्रम्पले लाखौं अवैध आप्रवासीहरूलाई देशबाट निकाल्ने घोषणा गरेका थिए । उनले राज्यका सबै तहका निकायहरू परिचालन गरेर अवैध आप्रवासीहरूलाई पक्रने, जेलमा राख्ने र देशबाट निकाल्ने ‘मास डिपोर्टेसन प्लान्स’ अगाडि सारेका थिए ।
‘तपाईंलाई थाहा छ कि म त्यस्तो व्यक्ति होइन जसले तपाईं अमेरिका आउन सक्नुहुन्न भनोस्, हामी मानिसहरू यहाँ आऊन् भन्ने चाहन्छौं,’ उनले भने, ‘जब मानिसहरूले हत्या र हत्याका घटनाहरू गरेका छन्, जब लागूऔषध मालिकहरूले देशहरू ध्वस्त बनाएका छन्, अब तिनीहरू ती देशहरूमा फर्कनेछन् किनकि उनीहरू यहाँ बस्ने छैनन्।’
उनले सीमालाई बलियो र शक्तिशाली बनाउने र सँगसँगै अमेरिकामा मानिसहरू आइरहने वातावरण पनि बनाउने बताए ।