

एसपी मुछिएपछि सीआईबीले थाल्यो भैंसेपाटी हनी ट्रयाप प्रकरणको अनुसन्धान

काठमाडौं । भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाही जोडिएको ‘हनी ट्रयाप’ प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेको छ ।
नेपाल प्रहरीका एसपी कमल थापामाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी दिएको हो ।
सीआईबीका प्रमुख एआईजी दिपक थापाका अनुसार, यो प्रकरणको नेक्सस विभिन्न जिल्लासँग जोडिएकाले मंगलबारदेखि अनुसन्धान थालिएको छ ।
गएको ६ असोजमा प्रहरी प्रभाग, भैंसेपाटीमा इन्स्पेक्टरकै संलग्नतामा प्रहरी चौकीमा लेनदेन भन्दै ललितपुर प्रहरी परिसरका अधिकारीहरुसमक्ष सूचना पुगेको थियो । त्यसपछि ललितपुरका एसएसपी शेखर खनालले सबैलाई कार्यालयमा बोलाएर छानबिन थालेका थिए ।
त्यसक्रममा इन्स्पेक्टर शाहीको पनि शंकास्पद भूमिका देखिएको थियो । पछि प्रहरीले उनलाई पनि प्रतिवादी बनायो । पक्राउ पूर्जी जारी भएपछि शाही फरार छिन् । ललितपुर प्रहरीको छानबिन समितिको जाँचका क्रममा शाहीलाई प्रकरणका आरोपी ताज स्माइलसँग एसपी कमल थापाले चिनजान गराइदिएको भेटिएको थियो ।
एसपी थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा रहँदैबाट इस्माइलसँग परिचित थिए ।
अनुसन्धानका क्रममा एसपी थापाको स्माइलसँग पटकपटक भेटघाट र कुराकानी हुने गरेको समेत भेटिएको थियो । ‘प्रहरी प्रधान कार्यालयले गरेको जाँचमा पनि केही नयाँ तथ्यहरु खुलेका छन्, सबै विषयमाथि जाँच थालेका छौं’, ब्यूरोका अधिकृतहरु भन्छन् ।
आरोपी इस्लामको समूहले एक जना युवती प्रयोग गरेर पूर्वका व्यवसायीसँग बलात्कारको मुद्दा लगाइदिने भन्दै बार्गेनिङ गरेको थियो । प्रहरी समेतको उपस्थितिमा ६० लाख रुपैयाँबाट बार्गेनिङ सुरु भएपनि अन्तिममा ३० लाखमा सहमति गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार, सहमतिपछि ७ लाख रुपैयाँ व्यवसायीले तुरुन्तै इस्लामले भनेअनुसार भीमादेवी बुढाथोकी नामको खातामा हालिदिएका थिए । बाँकी रहेको २३ लाख रुपैयाँमध्ये १३ लाख रुपैयाँ अर्को दिन बैंकमा गएर फेरि बुढाथोकीकै नाममा बैंकमा जम्मा गर्न लगाएको पाइएको प्रहरी अधिकृतहरुको भनाइ छ ।
ललितपुर प्रहरीका अनुसार, इटहरीबाट पक्राउ गरेर ल्याउँदा बुढाथोकीले आफ्नो एटिएम, चेक लगायत इस्लामले नै चलाउने गरेको बयान दिएकी छन् । इन्स्पेक्टर शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाल पनि बैंकमा पैसा जम्मा गर्न जाँदा व्यवसायीसँगै बैंक पुगेको खुलेको छ ।
यसपछि ललितपुर प्रहरीले हमाललाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

