भुटानी शरणार्थी प्रकरणमा ओली, शेरबहादुर , आरजु राणा विरुद्ध अख्तियार उजुरी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरु मुछिएको भए पनि अनुसन्धान नभएको भन्दै भ्रष्टाचार निवारण ऐन बमोजिम मुद्दा चलाई कारबाही गर्न माग गरेका छन् ।अधिवक्तासमेत रहेका युवराज पौडेल सफलले अख्तियारमा भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् ।
उनले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणासहित नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा’बादल’, कांग्रेस नेतृ मन्जु खाँण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर र प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।
प्रधानमन्त्री ओली लगायतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुसँग भेटेको भन्दै उनीहरुको संलग्नता देखिएको आरोपपत्रमा उल्लेख छ ।