‘पूर्णबहादुरको सारंगी’लाई प्रधानमन्त्रीको बधाइ, क्यूएफएक्सले दियो ‘सुपरहिट’को मान्यता
काठमाडौं । पछिल्लो समय क्यूएफएक्स चेन फिल्मको व्यवसायिक ट्रेन्डिङ तय गर्ने सूचक बन्न थालेजस्तो देखिन्छ ।
नेपाली फिल्म बजारको ६० प्रतिशतभन्दा धेरै हिस्सा ओगट्ने यो चेनले पछिल्लो समय आफ्नो हलमा प्रदर्शन हुने फिल्मलाई कमाइको आधारमा ‘सुपरहिट’ र ‘ब्लकबस्टर’ मान्यता दिइरहेको छ ।
पछिल्लो सप्ताहन्त रिलिज भएका तीनमध्ये २ फिल्मलाई मात्र क्यूएफएक्सले ‘सुपरहिट’को मान्यता दिएको छ । ‘पूर्णबहादुरको सारंगी’ र ‘सिंघम अगेन’ले मात्र सुपरहिट ट्याग पाएका छन् भने ‘भुलभुलैया ३’ले यो मान्यता पाउन सकेन ।
क्यूएफएक्सले जसरी यो मान्यता दिइरहेको छ, तिहार बक्स अफिसको ब्यवसायिक ट्रेन्ड पनि यही हो । क्यूएफएक्सका हलमा कुनै फिल्मले पहिलो सप्ताहन्त ९विकेन्ड०मा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ‘ब्लकबस्टर’ र कुनै फिल्मले पहिलो साता सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गरिन्छ ।
जसअनुसार, ‘पूर्णबहादुरको सारंगी’ र ‘सिंघम अगेन’ले ‘सुपरहिट’को मापदण्ड त पुरा गरे तर, ‘ब्लकबस्टर’को मापदण्ड हासिल गर्न सकेनन् । अहिलेसम्म क्यूएफएक्समा रिलिज भएका कुनैपनि फिल्मले ब्लकबस्टरको मान्यता पाउन सकेका छैनन् । यसो हुनुुमा एकै समयमा एकभन्दा धेरै फिल्म रिलिज हुनुलाई कारण मानिएको छ ।
यसअघि दशैंको फूलपातिमा रिलिज भएका ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले पनि सुपरहिटको थ्रेसहोल्ड पार गरेका थिए । दीपकराज गिरी स्टारर फिल्मले ५ दिनमा उक्त थ्रेसहोल्ड पुरा गर्न ५ दिन लाग्यो भने ‘१२ गाउँ’लाई ६ दिन लाग्यो ।
‘तर, कुनै पनि फिल्मले अहिलेसम्म हाम्रो ब्लकबस्टरको मापदण्ड हासिल गर्न सकेका छैनन्’ क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी जनरल म्यानेजर तृप्ती गिरीले बताइन् । क्यूएफएक्सले ‘महाजात्रा’बाट सुपरहिटको ट्याग दिन थालेको हो । त्यसयता महाजात्रा, बोक्सीको घर, स्त्री २, कल्कीले मात्र सुपरहिटको ट्याग पाएका छन् ।
हलमा तोकिएको कमाइ पुरा गरेमा अटोमेटिकरुपमा वेबसाइटमा ट्याग देखापर्ने गिरीको भनाई छ । अहिले देशभर क्यूएफएक्सका १७ हल र ४० पर्दा छन् ।
प्रधानमन्त्रीले दिए बधाइ
प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘पूर्णबहादुरको सारंगी’को समीक्षात्मक र ब्यवसायिक सफलताप्रति निर्माता र कलाकारलाई बधाइ दिएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै ओलीले अनुकूल समय मिलाएर फिल्म हेर्ने समेत उल्लेख गरेका छन् ।
ओली लेख्छन्, ‘ पूर्णबहादुरको सारङ्गी चलचित्र हेर्न निम्तो आएको छ । तर समय अभावले हेर्न पाएको छैन । फिल्मको समीक्षा हेर्दैगर्दा यसले हाम्रो सामाजिक परम्परा र व्यवसायिकताको अन्तरद्वन्द्वलाई राम्रोसँग उठान गरेको बुझेको छु । अनुकूलता मिले फिल्म हेर्ने छु । फिल्मका निर्माता र कलाकारहरुलाई बधाई १’