देउसी खेलिरहेको समूहलाई बसको ठक्कर, २ जनाको मृत्यु, ३० बढी घाइते
काठमाडौं । अर्घाखाँचीमा बसको ठक्करबाट तिहारको भैलो खेलिरहेका दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये २२ वर्षीया तारा श्रेष्ठको सनाखत भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको दुर्घटनामा परेर ३० जना बढी घाइते भएका छन् । भुमिकास्थान नगरपालिका ५ र ६ वडाको सीमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो खेलिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।
बसको एक्कासि ब्रेक फेल भइ बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको ज्यान गएको र उपचारको क्रममा तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको डीएसपी मल्लले बताए ।
घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ ।
प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साविक खिल्जी र असुरकोट गाविस हाल वडा नम्बर ५ र ६ को सीमाना जयठाटीमा १५र१६ भैलोका टिम नाच्ने परम्परा रहेको घटनास्थलबाट स्थानीय गणेश प्रसाद भण्डारीले बताए ।