विद्यालयमा चोरी गर्ने २ जना पक्राउ
काठमाडौं । विराटनगरमा रहेको एउटा विद्यालयमा चोरी गर्ने २ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–८ देवकोटा चोकमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा शुक्रबार साँझ ७ः३० बजेतिर चोरी भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले चोरी गरेर सामान लैजाँदै गर्दा विराटनगर–८ का विजय चौधरी र विराटनगर–२ का मनिष मण्डललाई पक्राउ गरिएको बताए । उनका अनुसार विद्यालयको कोठाको ताला फोडेर कम्प्युटरको मनिटर २ थान, सीपीयू १ थान, प्रिन्टर १ थान र धाराको सकेट २ थान चोरी गरेको पाइएको छ ।
चोरीका सामान लिएर जाँदै गर्दा वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले चौधरी र मण्डलाई पक्राउ गरिएको डीएसपी जोशीको भनाइ छ । पक्राउ परेका दुवै जनाविरुद्ध चोरी मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विद्यालयमा अहिले बिदा छ । चाडपर्वका बेला विद्यालय बन्द भएको मौका छोपेर चोरी गरिएको हो ।