

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो ।
अष्ट्रेलियाका ज्याक उडले ५५ र अलेस रोसले १४ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् । नेपालको जितका लागि प्रतीश जिसी एक्लैले तीन विकेट लिए र उनी प्लेर अफ दी म्याच बने । यस्तै लोकेश बम र विवेक यादवले एकरएक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको नेपाललले २ विकेट गुमाएर १११ रन बनाएको थियो । नेपालका लिग कप्तान सन्दीप जोराले १६ बलमा ४ छक्का र ५ चौका मद्दतमा ५१ रनको योगदान गरे । उनको यो लगातार दोस्रो अर्धशतक हो । यस्तै लोकेश बमले ३३, विवेक यादव र राशिद खानले १२र१२ रन जोडे भने नारायण जोशी एक रनमा नटआउट रहे ।
अष्ट्रेलियाका ज्याक उडले २ विकेट लिए ।
समूह बीमा रहेको नेपाले यसअघि पहिलो खेलमा इंग्ल्यांडलाई पराजित गरेको थियो । यससँगै यो समूहमा नेपाल शीर्ष स्थानमा छ ।

