मोरङमा दुई जना अवस्थामा मृत भेटिए
काठमाडौं । मोरङको कानेपोखरी र विराटनगरमा दुई जना मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार विराटनगरमा एक पुरुष र कानेपोखरीमा एक जना महिला मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार बिहान ७ः३० बजेतिर मृत फेला परेको जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ ।
सडक छेउमा मृत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत फेला परेका पुरुष केही समयदेखि विराटनगर बजार क्षेत्रमा मागीखाइ हिँड्ने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । डीएसपी जोशीका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए ।
त्यस्तै, कानेपोखरी गाउँपालिका–४ हात्ती डुब्बामा एक जना महिला मंगलबार साँझ आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार नीरकुमार राईकी पत्नी ५१ वर्षीया शान्ता राई ओछ्यानमा मृत फेला परेकी हुन् ।
उनका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा साँझ ५ः५० बजेतिर महिला मृत फेला परेपछि प्रहरी परिचालन गरेर घटनास्थल सुरक्षित राखिएको छ । बाहिर रहेकी मृतककी छोरी आइसकेपछि कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिने दाहालले बताए ।
महिलाको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी दाहालले दिए ।