सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।
यसअघि कात्तिक ७ गते सुनको मूल्य १ लाख ६६ हजार ७०० रुपैयाँसम्म पुगेकोमा त्यसपछिका दुई दिन १ लाख ६६ हजार कायम भएको थियो । आइतबार फेरि मूल्य १ हजार ४०० रुपैयाँ बढेर रेकर्ड कायम हुन पुगेको हो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको कारोबारमा चाँदीको मूल्य २ हजार ७० रुपैयाँ कायम भएकोमा आइतबार १५ रुपैयाँ बढेर २ हजार ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।